
पोखरा । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उनलाई कारबाही गरिने बताएका छन्।
कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताएका हुन्। उनले हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको जनाए।
उनले भने, ‘त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र थिए जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ।’
उनले अराजकतावादलाई सघाउने र मलजल गर्ने काम गर्नु उचित नभएको बताए। देशलाई द्वन्द्व, हिंसामा लैजाने कुरा सरकारले राम्रोसँग बुझेकाले छानबिन गरेर सजाय दिने पोखरेलको भनाइ छ।
उनले लोकतन्त्रको विकल्प वंश परम्परा र अनिर्वाचित सत्ता हुन नसक्ने बताउँदै लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुने उनी बताउँछन्। राजाको शासनकाल र राजतन्त्र ढलेपछि विकास र जनताको जीवनस्तरमा सुधार भएको पोखरेलले दाबी गरे।
‘हिजो बाटो, स्कुल र अस्पतालको अवस्था के हो ? हिजो २५१ डलर प्रतिव्यक्ति भएकोमा अहिले १४ सय डलर पुगेको कसरी बिर्सन सक्छौं,’ उनले भने, हिजो र आजको तुलना गर्दा यी सबै कुरा हेर्न आवश्यक छ।’
उनले आगामी निर्वाचनमा एमाले एक्लै लड्ने गरी मानसिकता बनाउन कार्यकर्तालाई निर्देशन दिए। नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालतर्फ इंगित गर्दै उनले म्याजिक नम्बर’ मार्फत अस्थिरता पैदा भएकाले त्यसको अन्त्य गर्न तत्काललाई कांग्रेससँग मिल्नुपरेको पोखरेलले बताए।
शिक्षा विधेयक र निजामती सेवा विधेयक वर्तमान सरकारले बर्खे अधिवेशनबाट पारित गर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले जानकारी दिए।
‘शिक्षकका माग जुन छन् ती मागलाई सम्बोधन गर्ने हिसाबले आउने बर्खे अधिवेशनमा पहिलो चरणमै त्यो शिक्षा विधेयक ल्याउने छौं र पास गर्ने छौं । समितिमा छलफल चलिरहेको कुरा भएको हुनाले त्यसलाई टुंगिने प्रक्रिया हुन्छ,’ उनले भने।
आन्दोलनरत शिक्षकले वार्तामार्फत समाधान खोज्न आवश्यक रहेको उनको भनाइ छ।
