स्याङ्जामा ऐतिहासिक काल्खु मेला सुरु

Share:

स्याङजा । जनसम्पर्क युवा क्लबको आयोजनामा स्याङ्जाको पुतलीबजार नगरपालिका-९ काल्खुमा ‘ऐतिहासिक काल्खु मेला सुरु’ भएको छ। ‘आजको आवश्यकता, समाज विकासमा युवाको अपरिहार्यता’ भन्ने मुल नारासहित हरेक वर्षको चैत्र पुर्णिमादेखि पञ्चमी (वैशाख ५ गते) सम्म हुँदै आएको ऐतिहासिक मेला शनिबारदेखि सुरु भएको हो।

मेलाको समाजसेवी बबता सेन ठकुरीले उद्घाटन गर्दै ग्रामीण तथा खेल पर्यटनको विकास गर्न मेलाले सघाउ पुर्याउने धारणा राखे।

उनले काल्खुगाउँ तथा आसपासको विकासका लागि ऐतिहासिक मेलालाई निरन्तरता दिनुपर्नेमा जोड दिए। ठकुरीले आगामी दिनमासमेत उक्त मेलालाई भव्य बनाउका लागि आफ्नो तर्फबाट सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

मेलाको उद्घाटनका क्रममा स्थानीय कला तथा संस्कृतिको प्रदर्शनीमार्फत विजेता र उपविजेता घोषणा गरिएको क्लबका प्रमुख सल्लाहकार जीवन थापामगरले जानकारी दिए। उनका अनुसार कुल ६ समूहको सहभागिता रहेको सो प्रतियोगिताबाट जागृति टोल विकास संस्था प्रथम बन्दै नगद १० हजारसहित पुरस्कृत बन्यो।

जागृति टोल विकास संस्थाले काल्खुले कुसिन्डे भाका प्रस्तुत गरेको थियो। यस्तै उपविजेता बनेको जीवन ज्योति टोल विकास संस्थाले झ्याउरे भाका प्रस्तुत गरेको थियो। जीवन ज्योतिले नगद रु ५ हजार प्राप्त गर्‍यो।

अब भलिबलका खेलहरु हुने क्लबका अध्यक्ष दिपक रानामगरले बताए। उनका अनुसार भलिबलतर्फको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ।उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ।

सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद १२ हजारसहित पुरस्कृत गरिनेछ। यसैगरी मेलामा खुला नृत्य प्रतियोगितालाई पनि समावेश गरिएको छ। नृत्य प्रतियोगितातर्फ प्रथम हुनेलाई ८ हजार रुपैयाँ, द्वितीय हुनेलाई ६ हजार, तृतीय हुनेलाई ४ हजार र सान्त्वना स्थान हाँसिल गर्नेलाई नगद रु २ हजारसहित पुरस्कृत गरिने अध्यक्ष रानामगरले जानकारी दिए।

उनका अनुसार नववर्षको दिन ख्याति प्राप्त लोक तथा दोहोरी कलाकारहरु चोलेन्द्र पौडेल, माया गुरुङ, कृष्ण गुरुङ, घनश्याम रिजाल, शंकर पन्त, निश्चल थापा मगर, पारु गुरुङ र ममता तामाङले प्रस्तुती दिने छिन् भने, २ गते रेशम थापामगर, अर्चना चापागाँई र हो गुरुङले प्रस्तुति दिनेछन्।

उद्घाटन समारोहमा राप्रपाका केन्द्रीय सदस्य हुकुम सिंह राना, लिलबहादुर राना, इश्वर राना लगायतले बोलेका थिए। क्लबका अध्यक्ष दिपक रानामगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेम बहादुर रानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने, खिबबहादुर रानाले कार्यक्रम सञ्चालन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: