
काठमाडौँ । एक वर्षको अवधिमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढेको छ। २०८० चैत ३० देखि २०८१ चैत ३१ गतेसम्मको अवधिमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार २०८० चैत ३० गते छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार रुपैयाँ कायम भएको थियो । तर, सो मूल्य २०८१ चैत ३१सम्म आइपुग्दा तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर परेको सरोकारवाला बताउँछन् ।
उसो त सुनको भन्सार दर नघटाइएको भए यतिबेला सुनको मूल्य थप बढी हुने थियो । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो ।
चालु आर्थिक वर्षको बजेट घोषणा हुँदा भन्सार दर २० प्रतिशत कायम गरिएको थियो । भन्सार दर महँगो भएको भनेर व्यवसायीहरुले सरकारमाथि दबाब बढाएपछि मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा गत मंसिर ९ मा सूचना प्रकाशित भएर निर्णय मंसिर १० देखि कार्यान्वयनमा गएको थियो ।
चैत ३१ गतेको भाउ हालसम्मकै रेकर्ड उच्च मूल्य हो ।
