
पोखरा । शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरले नव वर्ष २०८२ को अवसरमा नयाँ वर्ष विशेष लेख, रचना वाचन तथा भित्ते पात्रो सार्वजनिक गरेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपाली, पोखरा महानगर वडा नं १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे , वडा नं १६ का कार्यवाहक वडाध्यक्ष राजकुमारी बानियाँलगायतले पात्रो सार्वजनिक गरे।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालीले साहित्य भनेको सुवोध, सरल र जनसाधरणको मन छुने खालको हुनु पर्नेमा जोड दिँदै, सबैले बुझ्ने खालको साहित्य सदैव लोकप्रिय बन्ने बताए। उनले यथार्थपरक लेखनीका कुरा गर्दै जुनसुकै विधाको भएपनि साहित्य जिवन र जगतको चित्रणमा केन्द्रीत हुने स्पष्ट पारे।
कार्यक्रममा बोल्दै विशेष अतिथि पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले साहित्यले समाज रुपान्तरणमा ठूलो भूमिका खेल्ने भएकोले सामाजिक विकृति विसंगतीहरुलाई दृष्टिगत गर्दै आफ्ना कलमहरु सामाजिक रुपान्तरणको पक्षमा कोर्न अनुरोध गरे।
त्यस्तै पोखरा १६ का कार्यवाहक वडाध्यक्ष राजकुमारी बानियाँले शुक्ला साहित्य प्रतिष्ठानले भाषा साहित्यको विकासमा निरन्तर गर्दै आएका गतिविधिहरुको प्रशंसा गरिन्।
कार्यक्रममा प्रतिष्ठानका मानार्थ सदस्य ताराप्रसाद तिम्सिना, नव आदर्श सामूदायिक विकास समाजका अध्यक्ष दिनेश भण्डारी , विन्ध्यवासिनी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दिप थापाले शुभकामना मन्तव्य राख्दै नयाँ वर्षको आगमन संगै संस्थाले साहित्यिक विकासमा थप रचनात्मक आयामहरु थप्दै जाने अपेक्षा राखे।
