
पोखरा । हरेक गाउँ पर्यटकीय ठाउँ‘ भन्ने मुल नाराका साथ गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको दशौं साधारण सभा शनिबार माछापुच्छ्रे गाउँपालिका वडा नं. ६, धितालमा सम्पन्न भयो। साधारणसभाका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले उद्घाटन गर्दै माछापुच्छ्रे गाउँपालिका पर्यटकको लागि पहिलो रोजाईमा आउनुमा पर्यटन व्यवसायीहरुको हात रहेको बताउँदै गाउँपालिकाले पर्यटकीय क्षेत्रमा व्यवसाय मैत्री वातावरणमा जोड दिएको बताए।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले नेपालमा ग्रामिण पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै पर्यटन वोर्ड व्यवसायीको साथमा रहेको बताए। माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष टेकनाथ गौतमले भिटोफ संस्थाले जस्तै अन्य संघसंस्थाहरुले पनि आफ्ना वार्षिक कार्यक्रमहरु गाउँगाउँमा गएर गरेका गाउँको पर्यटन फस्टाउने बताए।
भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने मुल मन्त्रलाई ध्यानमा राखेर संस्थाले कार्यहरु गर्दै आएको उनको भनाइ छ। कार्यक्रममा मञ्चका सल्लाहकार टिकाराम सापकोटा, पूर्व अध्यक्ष नवराज अधिकारी, होटल संघ गण्डकीका उपाध्यक्ष गणेशराज पहारी, अक्टोबर इनकी सञ्चालन भावना रानाभाट, कालाबाङ सामुदायिक होमस्टेका अध्यक्ष यामबहादुर गुरुङ, अर्मलाकोट सामुदायिक होमस्टेकी अध्यक्ष बबिता गुरुङ र सचिव झलश्री गुरुङ, हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाट, पर्यटन व्यवसायी इको भिलेज रिसोर्टका सञ्चालक विश्वराज अधिकारी, व्यक टु नेचरका सञ्चालन डम्बर पुनलगायत पर्यटन व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सभाले प्रथम उपाध्यक्ष रमेश अर्यालले प्रस्तुत गरेको संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शरण गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो। मञ्चकी अध्यक्ष शोभा कुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत द्धितीय उपाध्यक्ष शुशिला भण्डारीले र सञ्चालन सचिव लक्ष्मण पहारीले गरेका थिए।
