
पोखरा। नेपाल पुन मगर समाज पोखरा महानगरपालिका-३२ वडा समितिले निर्माण गरेको ब्याडमिन्टन कभर्ड हलको शनिबार उद्घाटन भएको छ। तल्लो गगनगौंडामा निर्मित कभर्ड हलको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गरिन्। समाजले ५२ लाख ७३ हजार १ सय ८३ रुपैयाँको लागतमा उक्त कभर्ड हल निर्माण गरेको हो।
कभर्ड हल निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका समाजका अध्यक्ष तुलबहादुर पुर्जा पुनले पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको सहयोग र जनसहभागिता सहित कभर्ड हल निर्माण गरिएको बताए।
युवालाई खेलकुद मार्फत स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने र खेलाडी उत्पादन गर्ने उद्देश्यले कभर्ड हल निर्माण गरिएको उनले उल्लेख गरे। उद्घाटन समारोहमा आय व्यय प्रतिवेदन प्रस्तुत गर्दै समितिका कोषाध्यक्ष भीमप्रसाद पुनले पुन मगर समाजका सदस्यले ६ लाख ४९ हजार ३ सय ९४ रुपैयाँ बराबरको श्रमदान गरेको बताए।
पटक-पटक गरी समाजका सदस्यबाट १० लाख २३ हजार ७ सय ८९ रुपैयाँ नगद सहयोग संकलन गरेको उनले सुनाए। उनका अनुसार कभर्ड हल निर्माणका लागि महानगरपालिकाको ३२ नम्बर वडा कार्यालयबाट आर्थिक वर्ष ०७७/७८ मा १ लाख रुपैयाँ प्राप्त भएको थियो।
आर्थिक वर्ष ०७८/०७९ मा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले १५ लाख र आर्थिक वर्ष ०७९/८० मा पोखरा महानगरपालिकाले २० लाख रुपैयाँ प्रदान गरेको थियो। कभर्ड हल उद्घाटन गर्दै महानगर उपप्रमुख गुरुङले खेल पूर्वाधार निर्माणले खेलाडी उत्पादनमा सहयोग पुग्ने बताइन्।
‘शारीरिक र मानसिक रुपमा स्वस्थ रहँदै दक्ष खेलाडी उत्पादन गर्न कभर्ड हलले भूमिका खेल्नेछ,’ उनले भनिन्।उद्घाटन समारोहमा कभर्ड हल बनाउन सहयोग गर्ने संघसंस्था, चन्दादातालाई सम्मान गरिएको थियो।
