बाँसखर्कमा ठडियो कांग्रेस नेता कृष्णबहादुरको शालिक

Share:

पोखरा । नेपाली कांग्रेसका नेता तथा शहीद कृष्णबहादुर गुरुङको शालिक अनावरण भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका-४, बाँसखर्कमा रहेको शहीद कृष्णबहादुर स्मृति पार्कमा उनको शालिक अनावरण गरिएको हो।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उनको शालिक अनावरण गरे। नेपाली कांग्रेसका जिल्ला उपसभापति र महासमिति सदस्यसमेत रहेका उनको तत्कालीन सशस्त्र विद्रोही माओवादीबाट २०५९ साल वैशाख ६ गते हत्या भएको थियो।

उनलाई नेपाल सरकारले २०६७ साल असार ९ गते शहीद घोषणा गरेको थियो। २००७ साल भदौ ७ गते जन्मेका कृष्णबहादुर हक्की र स्वाभिमानी नेता मानिन्थे। शिक्षण पेशाबाट राजनीतिमा होमिएका र तत्कालीन सल्यान गाउँ पञ्चायतको दुईपटक प्रधानपञ्चसमेत भएका उनी पञ्चायतको विरोध गरेकै कारण ६ महिना जेल पनि परेका थिए।

शालिक अनावरण गर्दै कांग्रेस सभापति थापाले माओवादी सशस्त्र विद्रोहका बेला देशैभर कृष्णबहादुरजस्ता सयौंले ज्यान गुमाएको बताउँदै सशस्त्र विद्रोहका बेलाका घटनामा क्षमा दिइए पनि त्यसलाई नबिर्सेको बताए।

उनले नेपाली कांग्रेसले पनि कुनैबेला सशस्त्र संघर्ष गरेको तर सशस्त्र संघर्ष र व्यक्ति हत्या फरक विषय भएको पनि बताए।

कमेन्ट गर्नुहोस्
Share: