
पोखरा । नेपाल निजामती कर्मचारी सगंठन जिल्ला कार्य समिति कास्कीले आइतबार खुला रक्तदान आयोजना ग¥यो। संगठनको ३६ औं स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा ३८ युनिट रगत संकलन भएको अध्यक्ष रामचन्द्र पहारीले जानकारी दिए।
कार्यक्रममा संगठनका गण्डकी प्रदेश इन्चार्ज भरतप्रसाद भुषालले प्रशासनिक रुपमा संघीयताको कार्यान्वयनका लागि संघीय निजामती कर्मचारी ऐन जारी गर्न माग गरे। ‘पुराना कानुनहरूले नयाँ व्यवस्थाको मर्म बोक्न सक्दैनन्, जसको कारण पनि आम कर्मचारीले भ्रम र आरोपहरू समेत खप्नु परिरहेको छ,’ उनले भने, ‘संघीयता कार्यान्वयन गर्न संघीय निजामती सेवा ऐन जारी गर्न आवश्यक छ।’
उनले आम कर्मचारी सशक्त आन्दोलनमा जानुपर्ने वातावरण सिर्जना नभई अभिलम्ब ऐन जारी गर्न सरकारसमक्ष आग्रह गरे। पेशागत महासंघ नेपाल राष्ट्रिय समितिका सचिव रामप्रसाद खनालले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य कार्यान्वयन गर्न नेपालको निजामती प्रशासनको महत्वपूर्ण भूमिका रहने बताए।
उनले निजामती प्रशासनमा कार्यरत कर्मचारीको ट्रेड युनियनको मुल प्रवाहको रुपमा रहेको कर्मचारी संगठनमा आबद्ध कर्मचारीलाई नेपाली जनतालाई सर्वसुलभ, चुस्त दुरुस्त र पारदर्शी रुपमा सेवा प्रवाह गर्न सुझाव दिए।
नेपाल निजामती कर्मचारी संगठन कास्की अध्यक्ष पहारीले संगठनले स्थापना दिवसको अवसरमा बर्सेनी रक्तदान लगायतका सामाजिक कार्यक्रम गरेको बताए। उनले संगठनले सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन र संस्थागत सुशासनको पक्षमा काम गरेको दाबी गरे।
उनले मुलुक संघीय संरचनामा गएसँगै पालिका स्तरमा कमिटी निर्माण गरेको जानकारी दिए। कार्यक्रममा संगठनका केन्द्रीय सदस्यहरु राममणि ढुंगाना र तिलकप्रसाद आचार्य, गण्डकी प्रदेश कमिटी अध्यक्ष डोलराज पराजुली, संगठन कास्की उपाध्यक्ष हरिप्रसाद रेग्मी, महिला उपाध्यक्ष ऐश्वर्य आचार्य पोखरेल, सचिव शिवप्रसाद पौडेल लगायतले बोलेका थिए।
