पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची ?

318
0
Share:

काठमाडौँ। उपभोक्ताका लागि केही राहत हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाइ इन्धनको मूल्य घटाइएको हो।

निगमले दिएको जानकारी अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कटौती गरिएको छ। आन्तरिक उडानमा प्रयोग हुने हवाइ इन्धनको मूल्य पनि प्रतिलिटर १ रुपैयाँले घटाइएको निगमले जनाएको छ।

पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही घटेको सन्दर्भमा निगमले मूल्य समायोजन गरेको हो। इन्धनको मूल्य समायोजनसँगै उपभोक्तालाई प्रत्यक्ष फाइदा पुग्ने अनुमान गरिएको छ। यद्यपि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

निगमका अनुसार नयाँ मूल्य आज राति १२ बजेदेखि देशभर लागू हुनेछ। मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ र आन्तरिक हवाइ इन्धनको मूल्य १२८ रुपैयाँ कायम हुनेछ।

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार मूल्य समायोजन गर्नुपरे पनि खुद नाफा–नोक्सानको अवस्था हेरेर निर्णय लिइएको दाबी गरेको छ। आयल निगम अझै घाटामा रहेको बताउँदै आएको छ। यद्यपि हालको समायोजन उपभोक्ताको हितमा भएको भन्दै केही उपभोक्ता अधिकारकर्मीहरूले स्वागत गरेका छन्।

छोटो अवधिमा भए पनि इन्धन सस्तो हुनुले यातायात भाडादर र उत्पादन लागतमा पनि असर पार्नसक्ने आकलन गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: