
पोखरा । विभागीय टोलीहरू सबैले पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएका छन्। विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच शनिबारको दोस्रो खेलमा आर्मीसँग हारेपनि पुलिस पनि सँगै सेमिफाइनल प्रवेश गरेको हो। समूह बी मा रहेको अर्को भारतीय टीम भने बाहिरिएको छ।
समूह ए बाट अर्को विभागी टीम एपीएफ पनि सेमिफाइनल पुगिसकेको छ। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट २५-१९ ले गुमाएको आर्मीले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्न सफल रह्यो । आर्मीले दोस्रो सेट २५-१४, तेस्रो सेट २५-१७ र चौथो सेट २५-२१ ले जितेको हो। आर्मी र पुलिससँग समान अंक रहेको भारतीय टोली सेटका आधारमा प्रतियोगिताबाट बाहिरिएको छ । सेट र अंकका आधारमा पुलिस विजेता र आर्मी उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो।
समूह बी अन्तर्गत पहिलो खेलमा पुलिसले भारतीय टोलीलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई ३-१ को सेटमा पराजित गरेको थियो। आज भएको खेलमा आर्मीले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको हो।
यसअघि समूह ए बाट सशस्त्र प्रहरी बल (एपिएफ) र इरानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। इरानी टोली समूह विजेता र एपिएफ उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो। दुवै खेलमा पराजित भएको
गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरियो।
सेमिफाइनलका खेल आइतबार हुनेछन्। पहिलो सेमिफाइनल समूह ए को विजेता इरानी टोली र समूह बीको उपविजेता टीम त्रिभुवन आर्मीबीच हुनेछ। उक्त खेल दिउँसो एक बजेबाट सुरु हुनेछ।
दोस्रो सेमिफाइनल खेल समूह बी विजेता नेपाल पुलिस क्लब र समूह ए उपविजेता टोली सशस्त्र प्रहरी बल (एपिएफ) बीच हुनेछ। उक्त खेल दिउँसो ३ बजे सुरु हुनेछ। फाइनल खेल सोमबार हुनेछ।
