
पोखरा। स्व. गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पोखरामा क्रियाशील पत्रकारद्वय केशव पाठक र दुर्गा अधिकारीलाई प्रदान गरिने भएको छ। पत्रकार पाठकले २०८१ र अधिकारीले २०८२ को पुरस्कार प्राप्त गर्ने भएका हुन्। पुरस्कारको राशि नगद २५ हजार १ रुपैयाँ रहेको छ। पत्रकार गजेन्द्र भण्डारीको सम्झनामा उनका परिवारद्वारा स्थापित, नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित पुरस्कार यही जेठ २ गते स्व. पत्रकार गजेन्द्र भण्डारीको जन्म जयन्तीको अवसरमा प्रदान गरिने भएको हो।
पत्रकारद्वय पाठक र अधिकारीले पोखरामा रहेर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आइरहेका छन्। नेपाल खेलकुद पत्रकार मञ्चका पुर्वअध्यक्ष समेत रहेका पाठक पोखरा स्पोटस् अनलाइनका सम्पादक हुन्। उनले युवा तथा खेलकुद मन्त्रालयबाट २०७६ को राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले प्रदान गर्ने उत्कृष्ट खेल पत्रकारिता पुरस्कार लगाएतबाट सम्मानित भइ सकेका छन्।
क्रियाशिल पत्रकार महिला समुह गण्डकी प्रदेशका पुर्व अध्यक्ष समेत रहेकी अधिकारी निजी रेडियोहरुको छाता संगठन वानका केन्द्रिय उपाध्यक्ष हुन्। आमसञ्चार र पत्रकारिता एवम समाजशास्त्रमा स्नाकोत्तर गरेकी उनी यस अघि राष्ट्रपतिद्धारा जनसेवा श्री पञ्चमबाट विभुषित, नेपाल पत्रकार महासंघ कास्कीद्धारा स्थापित स्व. जगन्नाथ सिग्देल हिमदुत पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल युवा पत्रकार सम्मान २०७२ लगाएतका पुरस्कारबाट सम्मानित भइसकेकी छन्।
पाठक विशेषगरी खेलकुद पत्रकारितामा सक्रीय छन् भने अधिकारी रेडियो सफलता १०३.४ मेगाहर्जमा आवद्ध छन्। नेपाल पत्रकार महासघंका पुर्व अध्यक्ष एवम सल्लाहकार दिपेन्द्र श्रेष्ठ संयोजक, राज बहादुर गुरुङ र रामप्रसाद तिमिल्सेना सदस्य तथा महासंघका अध्यक्ष माधव बराल र सचिव भुपाल गुरुङ पदेन सदस्य रहनेगरि गठित प्रतिभा छनोट समितिले गरेको सिफारिसलाई महासंघको मगंलबार सम्पन्न बैठकले अनुमोदन गरेको हो।
बैठक पत्रकार महासंघका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको थियो। स्व. भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारिता मार्फत समाज, राष्ट्र र लोकतन्त्रप्रति योगदान पु¥याएका पत्रकारको सम्मानमा अर्पण गरिने गरिएको छ।
