
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।
महाशाखाका अनुसार अहिले मुलुकको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।
उता, मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। यस्तै, आज राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।
