
धनुषाको मिथिला विहारी नगरपालिका-८, ठेरा कचुरीमा बिहेभोजमा खाजा खाँदा सयभन्दा बढी व्यक्ति बिरामी परेका छन्। स्थानीय नरेश महराको छोरीको बिहेमा आएका जन्ती र स्थानीयले खाजा खाएपछि स्वास्थ्यमा समस्या देखिएको हो।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले खाजामा बाँडिएको बुनिया, रसबरी लगायतका परिकार खाएपछि पेट दुख्ने, बान्ता हुने र कमजोरी महसुस हुने लक्षण देखिएको बताए।
उनका अनुसार आइतबार राति जनकपुर उपमहानगरपालिका-२३, बिन्धीबाट जन्ती ठेरा कचुरी पुगेका थिए। विवाहको स्वयम्बर कार्यक्रम सकिए लगत्तै खाजा वितरण गरिएको थियो। खाजा खाएपछि केहीबेरमै धेरै जनामा स्वास्थ्य समस्या देखिन थालेपछि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ।
उनले भने, “अहिलेसम्म ४५ जना प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका छन्। अन्य बिरामी विभिन्न क्लिनिक तथा निजी अस्पतालमा उपचाररत छन्।” केही बिरामी भने सामान्य उपचारपछि घर फर्किएको उनको भनाइ छ।
जनस्वास्थ्य प्रमुख यादवले खाजाको घटनास्थलबाट खाजाको नमुना सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको बताए।
परीक्षणपछि खाजा कसरी बिषाक्त भएको भन्ने विषयमा निष्कर्ष आउने उनले जानकारी दिए।
