
पोखराबाट सुरु भएको ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले आजदेखि चितवनको भरतपुरमा ल्यान्डमार्क नारायणी र देवघाटमा ल्यान्डमार्क फार्म हाउसको नाममा सेवा विस्तार गरेको छ। आइतबार भरतपुरको ल्याण्डमार्क नारायणीमा पत्रकार सम्मेलन गर्दै ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका कर्पोरेट अपरेशन निर्देशक सम्राट पाण्डेले लिजिङ गरेर रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी र देवघाटको फार्म हाउसलाई ल्यान्डमार्क फार्म हाउस बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालनमा ल्याइएको जानकारी दिए।
भरतपुर हाइटमा रहेको ल्याडमार्क नारायणीले ७० कोठाको होटलबाट सेवा सुरू गरेको छ। व्यापारिक र पारिवारिक पाहुनाका लागि उत्कृष्ट सेवा र सुविधा प्रदान गर्न तयार रहेको ल्यान्डमार्क होटलका महाप्रबन्धक बोधराज लम्सालले जानकारी दिए। ल्यान्डमार्क नारायणीमा ठूला सभा र कार्यक्रम गर्न सकिने ६ वटा हल रहेका छन भने रमाइलो वातावरणमा खाना खानका लागि रेस्टुरेन्ट र पेय पदार्थको विविधतासहितको बार रहेको छ। पहुनाहरूको सुविधाका लागि कफी हाउस रहेको छ भने खुला आकाशमुनि आरामदायी ढंगले समय बिताउनका लागि ओपन टेरेस समेत रहेको छ।
यस्तै देवघाटको भुवनटारमा करिब चार एक्करमा फैलिएको ल्याण्डमार्क फार्म हाउसमा आरामदायी कोठा, कटेज, ट्रि हाउस र स्वीमिङ पुल रहेका छन्। त्रिशूली नदीको किनारमा अवस्थित फार्म हाउसमा प्राकृतिक सौन्दर्य, आराम र आधुनिक सुविधाको उत्कृष्ट संयोजन प्रदान गर्ने ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका अध्यक्ष राजु पाण्डेले बताए ।
उनका अनुसारमा फार्म हाउसमा फार्म टु टेवल डाइनिङ जसमा ताजा र स्थानीय उत्पादनमा आधारित भोजन हुनेछ । फार्म हाउसमा स्विमिङ पूल, पूल साइड पार्टी स्पेस, बार र रेस्टुरेन्ट तथा ट्री हाउस पनि रहेको जानकारी दिए।
भरतपुर र देवघाट क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने लक्षले ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट सेवा विस्तार गरेको अर्का निर्देशक रमेश पाण्डेले बताए। उनले ल्यान्डमार्क नारायणी र ल्यान्डमार्क फार्म हाउसको व्यवस्थापन सम्हालेसँगै ल्यान्डमार्कले नेपालको पर्यटन क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाएको बताए।
ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट्स नेपालकै प्रतिष्ठित हस्पिटालिटी समूह हो। ल्यान्डमार्कले लामो समयदेखि काठमाडौं, पोखरा, चितवन र भैरहवामा लक्जरी होटल र रिसोर्टहरूको सञ्चालन र व्यवस्थापन गर्दै आएको छ।
