पोखरा ८ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं.८ लाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ। वडाको सेवा क्षेत्रभित्र रहेका १६ देखि ५९ महिनासम्मका बालबालिकाहरूले १५ महिनाभित्र पाउनु सवैखोपहरु प्राप्त गरेको सुनिश्चितता पश्चात् घोषणा कार्यक्रम गरिएको हो।

पूर्ण खोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरु मार्फत घरधुरी सर्वेक्षण समेत गरिएको अधिकारीहरूले बताएका छन्। घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जुदेवी गुरुङले बालबालिकाहरूको सुरक्षित भविष्यमा लागि खोप एक प्रभावकारी र अत्यावश्यक कार्यक्रमका रूपमा सञ्चालन गरिएको बताइन्।

महानगरपालिका क्षेत्रमा रहेका सबै बालबालिकाहरूलाई समयमा नै खोप उपलब्ध गराउने दायित्व प्रति आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ थियो। बालबालिकाको स्वास्थ्य सुरक्षा विना स्वस्थ नागरिकको सामाजिक आवश्यकता पूर्ति गर्न नसकिने उनले बताइन्।

स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले आफूहरूको महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता सहित दिगोपना घोषणाको क्रममा रहेको बताए। पोखरा महानगरपालिका वडा नं.८ का वडा अध्यक्ष रुद्रनाथ बरालले आफ्नो वडाको बढ्दो जनघनत्वका बाबजुद बालबालिकाहरूको स्वास्थ्य प्रवद्र्धन र आधारभूत खोपको सुविधा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए।

वडा नं.७ का वडा अध्यक्ष राममोहन आचार्यले बालबालिकाको स्वास्थ्यका विषयमा अभिभावकहरूको चासो पनि उत्ति कै महत्वपूर्ण हुने बताए। पोखरा महानगरपालिका स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष पूर्ण लामाले नागरिकको समग्र स्वास्थ्यलाई व्यवस्थित र दिगो बनाउन बाल्य अवस्थाबाटै पाउनु पर्ने आधारभूत सेवाहरूको नियमिततामा जोड दिए।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीकी अध्यक्ष भीमा पौडेलले बालबालिकाहरूलाई आवश्यक खोप तथा पोषणका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने हरेक अभियानहरूमा महिला स्वयमसेविकाहरुको भूमिका उल्लेखनीय हुने गरेको बताइन्।

सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख कुश्मराज सुवेदीले यस अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्थानीय राजनीतिक दलहरू, नागरिक समाज लगायतको भूमिका महत्वपूर्ण रहेको बताए।

महानगरपालिकाका ३१ वटा वडाहरू पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा भइसकेका छन् भने, बाँकी २ वटा वडाहरू घोषणा हुने क्रममा रहेका छन्। यही जेठ १० गतेभित्र महानगरपालिकालाई नै पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गर्ने तयारी गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: