
शिक्षक सेवा आयोगले लिने आन्तरिक प्रतिस्पर्धामा पनि अनुत्तीर्ण हुने शिक्षकले आर्थिक सुविधा पाउने भएका छन्। प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गरेको उपसमितिले तयार पारेको विद्यालय शिक्षासम्बन्धी विधेयकको प्रतिवेदनमा ‘सीमित प्रतिस्पर्धामा अनुत्तीर्ण हुने राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकले गरेको सेवा अवधिको आधारमा सरकारले निर्धारण गरे बमोजिमको आर्थिक सुविधा प्राप्त गर्न सक्ने’ उल्लेख गरिएको छ।
आन्तरिक प्रतिष्पर्धाका लागि छुट्याइएको ६० प्रतिशत सिटमा राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षकले प्रतिस्पर्धा गर्नेछन्। त्यसमा उनीहरु सफल हुन नसकेको खण्डमा सरकारले तोके बमोजिमको आर्थिक सुविधा लिएर उनीहरुले शिक्षण पेसा छोड्न सक्नेछन्।
त्यस्तै समितिको प्रतिवेदनमा आन्तरिक प्रतिस्पर्धा गरिएको ६० प्रतिशतमा पदमा पदपूर्ति पुरा हुन नसकेको अवस्थामा त्यसलाई सबैले प्रतिस्पर्धा गर्न मिल्नेगरी खुला गर्न मिल्ने व्यवस्था गर्न समेत सुझाव दिइएको छ।
एसईई नहुने
माध्यामिक शिक्षा परीक्षा (एसईई) नगर्ने गरी उपसमितिले प्रतिवेदन बनाएको छ। यसअघि विधेयकमा पनि एसईई समावेश गरिएको थिएन। विद्यालय शिक्षाको अन्तिम परीक्षा कक्षा १२ मा हुने भएकाले एसईई नराखिएको हो। तर कतिपय सांसदले एसईई प्रदेशलाई दिनुपर्ने प्रस्ताव पनि राखेका थिए। माध्यामिक शिक्षा (कक्षा १२) उत्तीर्ण परीक्षाको सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशण र प्रमाणीकरण गर्न राष्ट्रिय परीक्षा बोर्ड रहने छ।
नेपली मौलिक कला, संस्कृति, सभ्याता, सामाजिक रहनसहन समेटिएका सामाजिक अध्ययनको विषय नेपाली वा मातृभाषाको माध्यमबाट पढाउने सहमति भएको छ। तर, कुनै विदेशीले नेपालको विद्यालयमा अध्ययन गर्दा राष्ट्रिय पाठ्यक्रममा आधारित अनिवार्य विषयहरू निर्धारित भाषामा अध्यापन गराउनुपर्ने भनिएको छ ।
प्रधानाध्यापकको छुट्टै दरबन्दी
उपसमितिको प्रतिवेदनले प्रधानाध्यापकको छुट्टै दरबन्दीको परिकल्पना गरेको छ। विद्यार्थी संख्या, विद्यालयको तह र अन्य आवश्यकता हेरी नेपाल सरकार, प्रदेश सरकार, वा स्थानीय तह आफैंले दायित्व बहन गर्ने गरी कुनै विद्यालयको लागि प्रधानाध्यापकको छुट्टै दरबन्दी सिर्जना गरेमा त्यस्तो दरबन्दीमा आयोगको सिफारिसमा पदपूर्ति गरिने भनिएको छ।
प्रधानाध्यापकले नेपाल शिक्षक महासंघको सदस्यता लिन नपाउने व्यवस्था प्रतिवेदनमा राखिएको छ । प्रधानाध्यापक महासंघको सदस्यता कुनै पदमा रही काम गर्न र महासंघ तथा यस ऐन बमोजिम गठन हुने विद्यालय व्यवस्थापन संघको तर्फबाट प्रतिनिधित्व गर्न नपाउने भनिएको छ ।
विभाग र जिल्ला शिक्षा कार्यालय नरहने
विधेयकमा जिल्ला शिक्षा कार्यालय राखिएको थियो। तर उपसमितिले जिल्ला शिक्षा कार्यालय नरहने सहमति जुटाएको छ। त्यसैगरी, विधेयकमा शिक्षा विभाग राखिएको थियो। तर, उपसमितिले विभाग नराख्ने निर्णय गरेको छ।
विभागको सट्टा शिक्षा तथा मानव स्रोत विकास केन्द्र नै राखिएको छ। विद्यालय शिक्षाको राष्ट्रिय नीति योजना र मापदण्ड कार्यान्वयन गर्न, प्रदेशको शिक्षा हेर्ने निकाय तथा स्थानीय तहसँग शिक्षाको सम्बन्धमा समन्वय तथा अन्य आवश्यक कार्य गर्न मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र रहने प्रतिवेदनमा उल्लेख छ।
शैक्षिक गुणस्तर परीक्षण प्राधिकरण रहने
शैक्षिक गुणस्तर परीक्षण प्राधिकरण बनाइने भएको छ। विद्यालय शिक्षाको गुणस्तर परीक्षणको मानक निर्धारण, मापदण्डको विकास, विद्यार्थीको सिकाइको राष्ट्रिय उपलब्धि परीक्षण गर्न शैक्षिक गुणस्तर परीक्षण प्राधिकरण रहने भनिएको छ। जसमा सरकारले नियुक्त गरेको प्रमुख शिक्षा परीक्षक रहने छ।
आन्तरिक ६० र खुला ४० प्रतिशत, उमेरहद लाग्ने
राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकलाई ऐन प्रारम्भ भएपछि शिक्षक सेवाबाट पहिलोपटक संचालन हुने परीक्षामा भाग लिन उमेरको हद नलाग्ने सहमति जुटेको छ ।
शिक्षकहरूले लामोसमयदेखि उमेर हद नलगाउन माग गरिरहेका थिए। शिक्षकको माग अनुसार यो प्रावधान राखिएको हो। कक्षा ११ र १२ स्वीकृत दरबन्दीसहित कुल दरबन्दीको ६० प्रतिशत सिटमा ऐन प्रारम्भ हुँदाका बखत राहत शिक्षक, अनुदान कोटा, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षकबीच प्रतिस्पर्धा गर्ने र बाँकी ४० प्रतिशत सिटमा खुला प्रतियोगिताको आधारमा परीक्षा लिई आयोगको सिफारिसमा पदपूर्ति गर्ने सहमति जुटेको छ।
२२० दिन विद्यालय खुल्ने
एक शैक्षिक सत्रमा कम्तीमा २२० दिन विद्यालय खुला रहने व्यवस्था उपसमितिले गरेको छ। त्यसैगरी, स्वयंसेवक शिक्षकको व्यवस्था गरिने भएको छ। प्रधानाध्यापकले विद्यालयको आवश्यकता र औचित्यताको आधारमा विद्यालय व्यवस्थापन समितिसँग समन्वय गरी स्वयंसेवक शिक्षकको सेवा लिन सम्बन्धित स्थानीय तहसँग अनुरोध गर्न सक्ने प्रतिवेदनमा भनिएको छ।
गत ८ चैतमा समितिले उपसमितिलाई ३५ दिनको समय दिएको थियो । छलफल सकिएपछि प्रतिवेदन लेख्न उपसमितिलाई २२ वैशाखमा थप १० दिनको सयय दिइएको थियो । विधेयकमा विभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफा छ। १७५८ वटा बुँदामा दर्ता भएका संशोधन प्रस्ताव परेको थियो । उपसमितिले सबैलाई समेटेर १०८ बुँदाको प्रतिवेदन तयार पारेको छ।
