
पोखरा। नवौं संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग बिहीबारदेखि पोखरामा हुने भएको छ। नेपाल भलिबल संघले मंगलबार पत्रकार सम्मेलनमार्फत पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा जेठ ८ देखि १५ सम्म प्रतियोगिता हुने जानकारी दिएको हो।
पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी १४ टिम प्रतियोगितामा सहभागी हुने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए।
पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, एपीएप क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश र मणिमुकुन्द भलिबल क्लब सहभागी हुने उनले बताए।
महिलातर्फ नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यू डायमण्ड युथ स्पोर्टस्, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश भलिबल टिम सहभागी हुनेछन्। सहभागी टिमले ३ जनासम्म विदेशी खेलाडी समावेश गर्न पाउनेछन्।
प्रतियोगितामा विजेता बन्ने पुरुष र महिला दुवै विधाका टिमलाई समान पुरस्कार राखिएको छ। प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ८ लाख, ४ लाख र २ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। दुवै विधाका सर्वोत्कृष्ट खेलाडीले ५०/५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २५/२५ हजार रुपैयाँ पाउने संघका उपाध्यक्ष यामबहादुर गुरुङले बताए। संघले प्रतियोगितामा सहभागी सबै खेलाडीको दुर्घटना बिमाको व्यवस्था गरेको छ। प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपैयाँ खर्च हुने संघको अनुमान छ।
