पोखरामा तेस्रो गाउँ पर्यटन मेला जेठ ९ र १० गते हुँदै

Share:

पोखरा । गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजारसम्म जोड्ने प्रयत्न गर्दै गाउँ पर्यटन प्रवद्र्धन तथा बजारीकरणको लागि एउटा माध्ययम बनाउने उद्देश्यसहित पोखरामा तेस्रो गाउँ पर्यटन मेला (होमस्टे मार्ट) आयोजना गरिने भएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीस्को सह-आयोजनामा यही जेठ ९ र १० गते पोखरामा मेला आयोजना हुने भएको हो।

मेलाले गाउँमा खुलेका गाउँ व्यवसायमार्फत गाउँमा हाल पलायन भइरहेका युवालाई गाउँमै आयआर्जनका अवसर सिर्जना गरी पलायन रोक्न पहल गर्ने र विदेशी पर्यटकलाई समेत गाउँमा रहेका पर्यटकीय संसाधनसंग जोड्दै उनीहरुको बसाई अवधि तथा खर्च बढाउने उद्देश्यसमेत राखेको छ।

मेलाको सहकार्यमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, होमस्टे फ्रेडेरेशन नेपाल (होफेन) गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद् रहेका छन्। सामुदायिक होमस्टे र सेवाहरुको बारेमा जानकारी दिने, बजारीकरण तथा बजारसँग जोड्ने, गाउँमा रहेका पर्यटन व्यवसायी र सम्भावित ग्राहक तथा पर्यटन व्यवसायीबीच सम्पर्क स्थापना गर्ने, गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिबृद्धि गर्ने र ग्रामीण पर्यटन प्रवद्र्धनमार्फत प्रदेशको समृद्धिमा योगदान पुर्याउने र थप उद्देश्य मेलाको छ। आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत होमस्टेले दिन सक्ने प्याकेजका बारेमा जानकारी मेलाले प्रवाह गर्ने जनाएको छ।

मेलामा सामुदायिक होमस्टे तथा गाउँको पर्यटन व्यवसायीका स्टल, गाउँ पर्यटन प्रवद्र्धनमा उद्योग र व्यवसायीको भूमीका, गाउँ पर्यटन प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमिकाबारे टक शो पनि हुनेछ। साथै विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुति, गाउँ पर्यटन सम्बन्धी प्रचारप्रसारका सामाग्रीको वितरण, सञ्चारमाध्ययमसँग समन्वय र सहकार्य पनि हुने आयोजकको भनाई छ।

पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछानेका अनुसार मार्टमा गोरखा र म्याग्दी बाहेक अन्य जिल्लाका २५ वटा गाउँ पर्यटन सम्बद्ध व्यवसायीको सहभागिता रहने बताए। भिटोफ अध्यक्ष शोभा सापकोटाको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: