
पोखरा। पोखरामा जारी यु-१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगितामा कास्कीले तनहुँमाथि १ रनको रोमाञ्चक जित निकालेको छ। निर्धारित ३५ ओभरको खेलमा टस जितेर ब्याटिङ रोजेको कास्कीले २९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ३० रन बनाएको थियो।
प्रत्युत्तरमा जितको नजिकै पुगेको तनहुँले १ सय २९ रन जोड्दा ३१.४ ओभरमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। कास्कीको जितमा नायक सावित भएका प्लेयर अफ द म्याच सोनु यादवले महत्वपूर्ण ३ विकेट लिए। कास्कीको ब्याटिङमा विमोचन सापकोटाले २७ रनको पारी खेले।
उनले २ छक्का र २ चौका प्रहार गरेका थिए। त्यस्तै, सौरभ सिद्धिकीले टिमका लागि २५ रनको योगदान गरे। तनहुँका बलरहरु बरदान यादवले ४ तथा सौरब कुशवाह, सुप्रिम सुनार र स्पर्श तामाङले समान २/२ विकेट लिए।
तनहुँका ब्याटर रोज श्रेष्ठले अर्धशतकीय पारी खेल्दै ५९ रन जोडेपनि टोलीलाई जित दिलाउन भने सकेनन्। उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए।
त्यस्तै, सुप्रिम सुनारले व्यक्तिगत २२ रनको योगफल तयार पारे। कास्कीका अन्य बलरहरु अनिस रावत र स्मित कँडेलले २/२ तथा राज परियारले १ विकेट लिएका थिए।
जितसंगै कास्कीले समुह ‘ए’ मा शिर्षस्थान कायम गरेको छ। उसले २ खेलमा २ जित निकाल्दै ४ अंक बटुलेको छ। दोश्रो स्थानमा रहेको तनहुँसँग २ अंक छ भने कुनैपनि खेल जित्न नसकेको बाग्लुङ पुच्छरमा रहेको छ।
