कुमुदिनी स्कुलको आयोजनामा पहिलो कुमुदिनी कार्निभल तथा लिटरेचर फेस्टिभल सम्पन्न

Share:

पाेखरा। पोखरा महानगरपालिका वडा नं ४, गैह्रपाटनमा रहेको प्रतिष्ठत विद्यालय कुमुदिनी होम्समा पहिलो पटक विद्यालयमा कुमुदिनी कार्नभल तथा लिटरेचर फेस्टिभल आयोजना सम्पन्न भएको छ। शुक्रबार विद्यालयले शिक्षाका साथसाथै विद्यार्थीलाई भविष्यमा आफ्नै खुट्टामा उभिन, आत्मविश्वासी बन्न अतिरिक्त क्रियाकलाप र कार्निभल प्रेरक हुने उद्धेश्यले कार्नभल तथा लिटरेचर फेस्टिभलको आयोजना गरेको हो।

कार्निभलमा विद्यार्थीले ४५ वटा स्टल राखेका विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए। उनका अनुसार स्टलहरुमा विभिन्न खानाका परिकार, फास्टफुडलगायत विभिन्न हस्तकलाका सामग्रीहरू समावेश गरिएको थियो।

कार्निभलमै लेखक, साहित्यकारसँग विद्यार्थीलाई परिचित हुने गरी साक्षात्कार गराइएको बताए। अध्यक्ष पालिखेले भने, ‘जीवनमा सफलता पाउनका लागि धेरै मेहनत चाहिन्छ अनि मात्रै सफल भईन्छ। त्यसैले लेखकको अनुभव सुनाउन प्रमुख अतिथि साहित्यकार, लेखक तीर्थ गुरुङसँग विद्यार्थीको साक्षात्कार गराएका हौं ।’

कार्नभल तथा लिटरेचर फेस्टिभलमा शिक्षक अनुपमणि अधिकारी सहजकर्ताका रुपमा रहेका थिए भने विद्यार्थीहरूले गुरुङको कृति पाठशालामा आधारित भएर विभिन्न जिज्ञासा समेत राखेका समेत राखेका थिए। प्रमुख अतिथि गुरुङले यसरी विद्यार्थी माझ आफूलाई प्रस्तुत गर्ने मौका पाएकोमा ज्यादै खुसी लागेको सुनाए। उनले विद्यार्थीसँग अन्तरक्रियामा सहभागि हुन पाउँदा उनीहरूका भावना बुझ्ने अवसर मिलेको बताए।

यसैगरी पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख जीवन रेग्मीले उत्कृष्ट विद्यालयको रुपमा परिचित कुमुदिनीले शिक्षाका साथै अतिरिक्त क्रियाकलापलाई पनि सञ्चालन गर्नु र सिपलाई व्यवहारमा उतार्न मेला नै आयोजना गर्नु खुसीको कुरा भएको बताए।

कार्नभल तथा लिटरेचर फेस्टिभलमा पोखरा महानगरपालिका वडा नं ४ का सदस्य प्रकाश कोईराला, अभिभावकहरू, सञ्चालक मिना पालिखे, कुशल पालिखे, व्यवस्थापन समितिका सदस्य राज बहादुर गुरुङ, सहप्राचार्य मुकेश कुमार अधिकारी, गणित शिक्षक मन बहादुर भुजेल, सजनी माजु लगायतको सहभागिता रहेको थियो ।

सोही अवसरमा कविता प्रतियोगिता समेत सम्पन्न भएको थियो। शिक्षकहरू उमा पोख्रेल र अनुपमणि अधिकारी निर्णायक रहेको प्रतियोगितामा गरिमा ढुङ्गाना प्रथम, प्रतीक पौडेल द्वितीय, ऐश्वरी श्रेष्ठ तृतीय र सान्भी श्रेष्ठ सान्त्वना भएका थिए।

विजेता हुने विद्यार्थीलाई विभिन्न साहित्यिक पुस्तक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक दिपेन्द्र थापा मगरले जानकारी दिए।

यस्तै कार्यक्रममा विभिन्न नृत्य तथा कुमुदिनी ट्राइब ब्याण्डको प्रस्तुति र स्थानीय ब्ल्याक फेदरको सांगीतिक प्रस्तुति गरिएको थियो। संस्थापक अध्यक्ष पालिखेको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक सुरेन्द्र सदिच्छाले सञ्चालन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: