
पोखरा । प्रधानाध्यापक संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन यही जेठ २३ र २४ गते पोखरामा हुने भएको छ। संघले शनिबार पत्रकार सम्मेलनमार्फत दोस्रो राष्ट्रिय सम्मेलन हुने जानकारी गराएको हो। नेपालका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको गैरराजनीतिक र गैरनाफामुलक एवं साझा संगठनको रुपमा स्थापना भएको संघले देशभरका झन्डै २८ हजार सामुदायिक विद्यालयका प्रअहरुलाई एकताबद्ध गरी शैक्षिक उत्कृष्टता, नेतृत्व विकास र सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ।
साथै प्रअहरुको पेशागत क्षमता अभिबृद्धि, शिक्षा क्षेत्रमा नीतिगत परिवर्तनको वकालत र विद्यार्थीकालागि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चितता गर्ने लक्ष्य पनि राखेको छ। उसो त सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षक तथा प्रअहरुको सशक्तिकरण, नीति निर्माणमा प्रभावकारी भूमिका तथा विद्यार्थीको समग्र विकासका लागि संघले काम गर्छ। संघका केन्द्रीय अध्यक्ष सुदामप्रसाद गौतमले संघले विद्यालय प्रशासन, व्यवस्थापन, नीति सुझाव, तालिम तथा विभिन्न शैक्षिक गतिविधिहरुको समन्वय गर्दै शिक्षा क्षेत्रको विकासका लागि पहल गरिरहेका बताए।
संघले वर्षेनी फरक/फरक प्रदेशमा ‘थीम’ आधारित राष्ट्रिय सम्मेलन गर्दै आएकोमा यसपटक गण्डकी प्रदेशको राजधानी पोखरामा सम्मेलन हुन लागेको पत्रकार सम्मेलनमा बताइएको छ। सम्मेलनमा एकहजार प्रधानाध्यापक, शिक्षाविद्, विभिन्न स्थानीय तहका प्रमुखहरु, बिदेशी प्रतिनिधिहरुलगायत नीति निर्माताहरुको सहभागिता रहने छ।
सम्मेलनमा प्यान अवार्ड २०८२ बाट प्रत्येक प्रदेशबाट एकएक आधारभूत र माध्यामिक तहका उत्कृष्ट बिद्यालय, प्रत्येक प्रदेशबाट आधारभूत र माध्यामिक तहका प्रधानाध्यापक, एकएक उत्कृष्ट नगरपालिका वा गाउँपालिका, महानगरपालिका वा उपमहानगरपालिका सम्मानित गरिनेछ। साथै प्यान अवार्डबाट प्रत्येक प्रदेशबाट एक बहालवाला दीर्घसेवी प्रधानाध्यापकलाई सम्मानित पनि गरिने संघका गण्डकी प्रदेश अध्यक्ष बामदेव पौड्यालले बताए।
