पोखरा-८ कोवेव डिजाइन तथा डेभलपमेन्ट तालिम सम्पन्न

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ को आयोजना तथा नीति एकेडेमी पोखरा- ९ को सहकार्यमा आयोजित वेव डिजाइन एवं डेभलपमेन्ट तालिम सम्पन्न भएको छ । मंगलबार नीति एकेडेमीको सभाहलमा आयोजित समापन कार्यक्रममा वडाध्यक्ष रुद्रनाथ बरालले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरे ।

उक्त अवसरमा वडाध्यक्ष बरालले तालिममा सिकेका सिपलाई व्यवहार मै उतारेर स्वरोजगार बन्न आग्रह गरे । उनले भने, ‘अब तपाईंहरुले घरमै बसेर निकै मेहनत गर्नुस्, केही नबुझे प्रशिक्षक सँग समन्वय गर्नुस् ।’ वडा कार्यालयले स्वरोजगार बनाउने उद्देश्यले धेरै प्रकारका तालिम सञ्चालन गरिरहेको उनले बताए ।

वर्तमान समयलाई ध्यानमा राखेर तालिम आयोजना गरिएको भन्दै उनले भने, “हामी अब डिजिटल युगमा छौँ, जहाँ सिप नै शक्ति हो, तालिममा सहभागी भएकाहरुले सिकेका सीपहरु भोलिका उद्यमी, डिजाइनर र विकास कर्ताको जग बन्नेछन् ।”

डिजिटल प्रविधिको विकाससँगै प्राविधिक सीपमा दक्ष बनाउन पनि तालिम महत्वपूर्ण हुने वडाध्यक्ष बरालको विश्वास छ । नीति एकेडेमीका अध्यक्ष माधव पोखरेलले तालिमका लागि तालिम आयोजना नगरिएको भन्दै तालिमले विद्यार्थीलाई धेरै कुरा सिकाएको र अब व्यवसायिकता तर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे । उनले वर्तमान समयमा वेव डिजाइन तालिम जो कसैलाई आवश्यक पर्ने स्पष्ट पारे ।

प्रशिक्षार्थी दीपकराज घिमिरेले तालिम निकै प्रभावकारी भएको बताए । तालिमबाट धेरै ज्ञान हासिल भएकोले अब निखारता ल्याउनका लागि आफैले मेहनत गर्नुपर्ने उनले बताए ।

वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा-८ का वडा सदस्य गोविन्द बराल, वडा सचिव झंकनाथ पौडेल, पत्रकार हरि पन्त लगायतले बोलेका थिए ।

नीति एकेडेमीले ग्राफिक डिजाइन, वेव डिजाइनिङ, डिजिटल मार्केटिङ, वेसिक तथा डिप्लोमा कम्प्युटर ट्रेनिङ, सफ्टवेयर डेभलपमेन्ट र आरजे एवं भीजे ट्रेनिङ गर्दै आएको छ । हाल सम्मनीति एकेडेमीले करिब पाँच सय विद्यार्थीलाई शिक्षा प्रदान गरी रोजगार दिन सफल भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: