एनभीए लिग: गण्डकी र न्यु डायमन्डको उत्कृष्ठ प्रदर्शन, फाइनल भिडन्तको तयारी

Share:

पोखरा। गण्डकी प्रदेशले डिफेन्डिङ च्याम्पियन टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई स्तब्ध पार्दै नवौं प्रधानमन्त्री कप एनभीए लिग भलिबलको फाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालास्थितको कभर्डहलमा मंगलबार घरेलु टोली गण्डकी प्रदेशले ३-२ को प्रतिस्पर्धात्मक सेटमा जित पाएको थियो। गण्डकीले २५-१८, १९-२५, १४-२५, २५-२०, १५-११ ले नतिजा निकालेको थियो। गण्डकीको छैटौं खेलमा छैटौं जित हो। पाँचौं सेटमा जित निकालेकाले २ अंक पाएको गण्डकी १७ अंकसहित शीर्षस्थानमा उक्लिएको छ।

पहिलो हार भोगेको हेल्प नेपाल छैटौं खेलमा १६ अंकसहित दोस्रो स्थानमा झर्‍यो। यद्यपि एक खेलअगावै हेल्प नेपाल फाइनल पुग्यो। मंगलबार अन्तिम खेलमा आर्मीले पुलिसलाई पराजित गरेपछि हेल्प नेपालले फाइनलमा स्थान बनाएको हो। तेस्रो स्थानको पुलिस हार बेहोरेपछि १२ अंकमा सीमित भयो। बुधबार हेल्प नेपाल र पुलिसबीच खेल हुनेछ। पुलिसले सोझो सेटमा जिते पनि फाइनल पुग्ने छैन। त्यस्तै एपीएफ र मणिमुकुन्द भलिबल क्लब विजयी भएका छन्। एपीएफले कोशी प्रदेशलाई ३-२ को सेटमा हरायो।

महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब फाइनलमा पुगेका छन्। एपीएफलाई २५-१८, २५-२२, २५-१६ ले सोझो सेटमा हराएपछि न्यु डायमन्डले फाइनलमा स्थान बनाएको हो। न्यु डायमन्डको जितले साबिक विजेता पुलिस क्लबले पनि फाइनलमा स्थान बनायो। डायमन्ड १२ अंक र पुलिस ११ अंकसहित पहिलो र दोस्रो स्थानमा रहेर फाइनलमा पुगे। मंगलबारै त्रिभुवन आर्मी क्लबले सान्त्वना जित पायो। कर्णाली प्रदेशविरुद्ध आर्मी ३-० को सोझो सेटमा विजयी भयो। आर्मी ४ अंकसहित पाँचौं स्थानमा रह्यो।

कमेन्ट गर्नुहोस्
Share: