
आगामी आर्थिक वर्षको बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको हुने भएको छ । चालु आर्थिक वर्षको भन्दा यो ५.६ प्रतिशत ठूलो बजेट हो । गत वर्ष तत्कालीन अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विहीबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे । उनले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ अर्थात् ६०.१ प्रतिशत बजेट विनियोजन गरेका छन् । यसअघि बर्षमानले चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेका थिए । ओली सरकारले प्रचण्ड नेतृत्वको सरकारले भन्दा ४० अर्ब बढी चालु खर्च विनियोजन गरेको छ ।
अर्थमन्त्री पौडेलले पुँजीगत तर्थात विकास खर्चतर्फ ४ खर्ब ७ अर्ब ८९ करोड (२०.८ प्रतिशत) बजेट विनियोजन गरेका छन् । अघिल्लो सरकारले चालु आर्थिक वर्षमा विकास खर्च ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरेको थियो । ओली सरकारले विकास खर्च एक अर्ब बढी विनियोजन गरेको देखिन्छ ।
त्यस्तै मन्त्री पौडेलले वित्तीय व्यवस्थापतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड (१९.१ प्रतिशत) विनियोजन गरेका छन् । उनले आगामी आर्थिक वर्षका लागि गरिएको बजेटको अनुमान चालु आर्थिक वर्षको सुरुको अनुमान भन्दा ५.६ प्रतिशतले बढी र संशोधित अनुमानभन्दा १८.२ प्रतिशतले बढी रहेको जनाएका छन् । यसले गर्दा बजेटको आकार ठूलो बन्न पुगेको छ ।
