लुम्बिनीदेखि सुदूरपश्चिमसम्म पोखराको पर्यटन सन्देश : व्यवसायी टोली फर्कियो

Share:

पोखरा । आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित पश्चिम नेपालतर्फ प्रस्थान गरेको पोखराका पर्यटन व्यवसायीको टोली लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रवर्द्धनात्मक अन्तरक्रिया तथा अवलोकन भ्रमण सम्पन्न गरी पोखरा फर्किएको छ।

‘पोखरा जाऊँ, प्रकृतिसँग रमाऔँ -पोखरा भ्रमण वर्ष २०२५ सफल पारौँ’ भन्ने नारासहित पृथ्वी होटल व्यवसायी समितिको टोलीले तीनवटै प्रदेशमा विभिन्न पर्यटन प्रवर्द्धन कार्यक्रम गरेको हो।

पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अम्बिका घिमिरे (अमृत) का अनुसार भ्रमणका क्रममा दाङ, कपिलवस्तु, बर्दिया, नेपालगञ्ज, धनगढी, अत्तरिया, महेन्द्रनगर, चिसापानी हुँदै स्वर्गद्वारी नगरपालिकासम्म पुगेर पत्रकार, पर्यटन व्यवसायी, स्थानीय सरकार तथा उद्योग वाणिज्य संघसँग अन्तरक्रिया गरिएको थियो।

ती क्षेत्रका पर्यटन व्यवसायी र जनप्रतिनिधिहरूले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल पार्न पोखरा आउने प्रतिबद्धता व्यक्त गरेका छन्। गत साताको सोमबार नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने द्वारा विदाइ गरिएको टोलीले स्थानीय सञ्चारकर्मी, व्यवसायी, संघसंस्थासँग सहकार्यमा कार्यक्रम सञ्चालन गरेको थियो।

पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरिसकेको छ। त्यस अवसरमा पोखराका होटल तथा रेस्टुरेन्टहरूले आन्तरिक पर्यटकलाई आकर्षित गर्न २० प्रतिशत छुट दिने घोषणा गरेका छन्। विभिन्न संघसंस्थाले पनि आफ्ना प्याकेजहरूमा छुटको व्यवस्था गरेको जानकारी भ्रमणकै क्रममा दिइएको थियो।

पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष बालकृष्ण न्यौपाने र सल्लाहकार तथा होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय सदस्य सनिता पन्त पौडेल ले यसपटकको भ्रमणले पोखरामात्र होइन, सिंगो गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। यसअघि समितिले बाग्मती, मधेस र कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यहरूमा पनि यस्तै अध्ययन भ्रमण र अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: