दोश्रो राष्ट्रिय डुंगा दौड प्रतियोगिताको तयारी पूरा, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

Share:

पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजनामा र फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा पोखराको फेवातालमा आइतबार हुने दोश्रो राष्ट्रिय खुला डुंगा दौड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाराहीघाटमा बिहान हुने उद्घाटन समारोहमार्फत प्रतियोगिताको शुभारम्भ गर्नेछन् ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र प्रदेश सांसदहरूको विशेष आतिथ्य रहनेछ। व्यवस्थापन समिति अध्यक्ष बलराम गिरीका अनुसार प्रतियोगितामा पुरुषतर्फ २० टिम र महिलातर्फ १२ टिमले सहभागिता जनाइसकेका छन्।

पूर्वतयारीस्वरूप बाराहीघाटमा स्वागत गेट निर्माण गरिनुका साथै विभिन्न स्थानमा प्रचारप्रसारका लागि पोल र ब्यानर टाँगिएको छ। महिला समूहले बाराहीघाटदेखि लिची गार्डेनसम्म करिब २ किलोमिटरको दूरीमा प्रतिस्पर्धा गर्नेछन् भने पुरुष समूहले बाराहीघाटदेखि लेक हाउससम्म करिब ३ किलोमिटर दूरीमा दौड प्रतियोगिता सम्पन्न गर्नेछन्।

गण्डकी प्रमुख मणीराज लामिछानेका अनुसार प्रतियोगिताको उद्देश्य फेवातालको संरक्षण तथा प्रचार-प्रसार गर्नुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनु रहेको छ। साथै, यसबाट फेवातालमा हुन सक्ने संभावित जोखिमबारे जनचेतना फैलाउने र पोखराको आकर्षण थप बढाउने लक्ष्य लिइएको छ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ४० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार, र सान्त्वना पुरस्कारस्वरूप १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिनेछ।

कमेन्ट गर्नुहोस्
Share: