हड्तालको समस्या वार्ताबाट मिलाउन होटल संघको माग

Share:

पोखरा। होटल संघ पोखरा नेपालले गण्डकी प्रदेशमा जारी सार्वजनिक यातायात सेवामा गरिएको हड्तालका कारण पर्यटक र समग्र यात्रु वर्गले दुःख खेप्नु परेको भन्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्न सम्वन्धित पक्षसँग माग गरेको छ। संघका अध्यक्ष लक्ष्मण सुवेदीले आइतबार जारी गरेको विज्ञप्तिमा सरकार र यातायात व्यवसायी वार्तामा बसेर समस्या समाधान गर्न र यातायात सेवालाई सुचारु गर्न अनुरोध गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘व्यवसायीका तर्फबाट जेजस्ता मागहरु राखेर आन्दोलन गरिए पनि सरकार र व्यवसायी वार्ताका माध्यमबाट एउटा निश्कर्षमा पुगी सार्वजनिक यातायात सेवालाई सुचारु गर्ने वातावरणका लागि सम्वन्धित सबै पक्षलाई हामी हार्दिक अनुरोध गर्न चाहन्छौं ।’

पर्यटन व्यवसायीले विगतदेखि नै बन्द र हड्तालको विपक्षमा आवाज उठाउँदै आएको र बन्द तथा हड्तालका कारण पर्यटन क्षेत्र नकारात्मक रुपमा प्रभावित हुने विषय उल्लेख गर्दै संघले बन्द हड्तालले देशविदेशमा सकारात्मक सन्देश नजाने उल्लेख गरेको छ।

पर्यटनका लागि सहज पहुँच र यातायात अनिवार्य शर्त भए पनि विगत तीन दिन देखि गण्डकी प्रदेश क्षेत्रमा सार्वजनिक यातायातका साधन संचालन हुन सकेका छैनन्। गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजी लगायतका मागहरु राखेर यातायात व्यवसायी र सम्वन्धित मजदूरका तर्फबाट अगाडि बढाइएको आन्दोलनको प्रत्यक्ष मारमा यात्रु वर्ग पर्नु दुःखको कुरा भएको संघले जनाएको छ।

पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको, पोखराले अहिले भ्रमण वर्ष २०२५ मनाउँदै गरेको र अन्नपूर्ण प्रथम हिमाल आरोहणको हिरक महोत्सव समेत मनाउने संघारमा गरिएको यातायात हड्तालको समस्या समाधानको उपाय वार्ता नै भएको अध्यक्ष सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: