अपाङ्गता सचेतनामूलक प्रतियोगितामा पोखरा-२६ को दबदबा

Share:

पोखरा । कास्की नेत्रहीन संघको आयोजनामा सोमबार लेखनाथमा सम्पन्न अपाङ्गता सचेतनामूलक लोकगीत प्रतियोगितामा ‘ऊर्जाशील नेत्रहीन महिला समूह’ (पोखरा-२६) पहिलो स्थान हासिल गर्न सफल भएको छ ।प्रतियोगितामा ‘नेत्रहीन महिला समूह’ ले दोस्रो स्थान प्राप्त गर्दा, ‘नमूना आमा समूह’ (पोखरा-२६, रिठ्ठेपानी) तेस्रो स्थानमा रहिन् । ‘नेत्रहीन युवा संघ’ बुढीबजारले सान्त्वना पुरस्कार प्राप्त गर्‍यो ।

विजेता समूहहरूलाई क्रमशः नगद रु १० हजार (प्रथम), रु ७ हजार (दोस्रो), रु ५ हजार (तेस्रो) र रु ३ हजार (सान्त्वना) सहित प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका-२६ का वडा अध्यक्ष नरेन्द्र थापाले विकासको मापन भौतिक पूर्वाधार मात्र नभई मानव संसाधनको सुदृढीकरणमा पनि हुनुपर्नेमा जोड दिए ।

 

उनले अपाङ्गताका कारण धेरैले अवसर गुमाइरहेका उल्लेख गर्दै, राज्यले उनीहरूको सुरक्षित जीवनको ग्यारेन्टी गर्नुपर्ने धारणा राखे । वडा सदस्य सुजता बराल सुनारले वडाले सबै क्षेत्र समेट्ने गरी बजेट विनियोजन गरेको जानकारी दिँदै महिलाको सशक्तीकरणका लागि क्षमता अभिवृद्धि कार्यक्रमलाई प्राथमिकता दिएको बताए।

सूचना अधिकारी नवराज सापकोटाले अपाङ्गमैत्री भौतिक पूर्वाधार आवश्यक रहेको उल्लेख गर्दै, उद्यमशीलता र आत्मनिर्भरताका कार्यक्रमले दृष्टिविहिन व्यक्तिहरूलाई सहयोग पुर्‍याउने धारणा राखे ।

कार्यक्रम कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा लोकदोहोरी प्रतिष्ठान कास्कीका अध्यक्ष शिवहरि ढुंगाना, लक्ष्मी आदर्श क्याम्पसका सहायक क्याम्पस प्रमुख तारा शर्मा, अपाङ्ग महासंघका प्रतिनिधि रमेश पोखरेल र संघका उपाध्यक्ष अमृत बराललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका अवसरमा वडा अध्यक्ष थापाले ४० जना दृष्टिविहिनलाई सेतो छडी, दुई जनालाई ह्वीलचेयर तथा पाँच जनालाई हियरिङ एड मेशिन वितरण गरेका थिए । प्रत्येक वडाबाट आएका १४ वटा दृष्टिविहिन तथा आमा समूहहरूको सहभागिता रहेको प्रतियोगिताको निर्णायक मण्डलमा लोकदोहोरी गायक शिवहरि ढुंगाना, सहायक क्याम्पस प्रमुख तारा शर्मा र रमेश पोखरेल रहेका थिए । कार्यक्रम सञ्चालन नेत्रहीन संघ कास्कीकी सुनिता ज्ञवालीले गरेका थिए भने संयोजन शुशिल गोदारले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: