गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

Share:

पोखरा । गण्डकी प्रदेश सरकारले आज (बुधबार) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

संविधान अनुसार प्रदेश प्रमुखले प्रदेश सरकारको सिफारिसमा नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने व्यवस्था छ। यस दस्तावेजमा आगामी वर्षका लागि सरकारका नीति-निर्देशन, प्राथमिकता, विकास योजनाहरू र कार्यक्रमहरू समेटिनेछन्। यसअघि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि प्रदेश सभामा छलफल भइसकेको छ। संविधानबमोजिम प्रदेशले हरेक वर्ष असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।

यो गण्डकी प्रदेशको आठौं नीति तथा कार्यक्रम हो। विगतमा नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नहुँदा अपेक्षित विकास हासिल हुन नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ।

चालु आर्थिक वर्षको कार्यप्रगति र नागरिकका आवश्यकतालाई मध्यनजर गर्दै आगामी वर्षका लागि कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता प्राथमिक क्षेत्रहरूमा विशेष कार्यक्रम ल्याइने अपेक्षा गरिएको छ।

हाल प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेले गरिरहेका छन्। उनले गएको वर्ष जेठ १४ गते सर्वोच्च अदालतको परमादेशपछि मुख्यमन्त्री पदमा बहाली पाएका थिए। त्यसबेला नीति तथा कार्यक्रम तथा बजेट हतारमा ल्याइएको थियो। तर यसपटक सरकारसँग तयारीका लागि पर्याप्त समय भएको बताइएको छ।

गत भदौमा एमाले गण्डकी प्रदेश सरकारमा सहभागी भएपछि गठबन्धन सरकारले समावेशी र दिगो विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै आएको छ।

संघीय सरकारबाट प्राप्त अनुदानमा कटौती र आन्तरिक राजस्व संकलन लक्ष्य अनुसार नहुँदा बजेट आकार घट्न सक्ने अनुमान गरिएको छ। नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि छलफल हुनेछ र अन्ततः पारित गरिनेछ। त्यसपछि असार १ गते बजेट निर्माण प्रक्रिया अघि बढाइनेछ।

कमेन्ट गर्नुहोस्
Share: