कालिदास तिमिल्सिनाको ‘म: आफैं र स्वजनका दृष्टिकोणमा’ नामक ग्रन्थ विमोचन

Share:

पोखरा। त्रिभुवन विश्वविद्यालयका निवृत्त उप-प्राध्यापक कालिदास शर्मा तिमिल्सिनाद्वारा लिखित आत्मकथात्मक ग्रन्थ ‘म: आफैं र स्वजनका दृष्टिकोणमा’ को विमोचन गरिएको छ। नेपाल नाट्य प्रतिष्ठान पोखराको आयोजनामा सम्पन्न विमोचन कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना थिए। उनले कार्यक्रमका प्रमुख वक्ताको रूपमा ग्रन्थ सार्वजनिक गरे।

६७० पृष्ठको उक्त ग्रन्थमा सर्जक तिमिल्सिनाको आत्मकथा, आत्मबोध, र विविध १३ क्षेत्रका १७६ व्यक्तिहरू, परिवारजन, साथीभाइ, शिक्षक, सहकर्मी, विद्यार्थी तथा सामाजिक-राजनीतिक क्षेत्रका व्यक्तिहरूको दृष्टिकोण समेटिएको छ। तिमिल्सिनाको जन्मस्थल पर्वतको मोदी गाउँपालिका-७ राम्जा देउराली हो भने हाल उनी पोखराको चाउथेमा बसोबास गर्छन्।

कार्यक्रममा बोल्दै सभामुख तिमिल्सिनाले पुस्तकमा समेटिएका विगतका संघर्ष, अनुभव र घटनाक्रम नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे। “आजका युवाले विगत अध्ययन नगर्दा समस्या सिर्जना भएको छ,” उनले भने, “विगतमा के भयो, आजको अवस्था कसरी आयो भन्ने बुझ्न यो पुस्तक सहयोगी हुनेछ।”

उनले हालका युवामा अध्यन र धैर्यको कमी देखिएको उल्लेख गर्दै, समाजमा भएका सकारात्मक परिवर्तनभन्दा पनि नकारात्मक पक्षलाई बढी उचाल्ने प्रवृत्तिका कारण समस्याहरू बढेको धारणा राखे। साथै, राजतन्त्रकालीन शासनलाई “कालो इतिहास”को संज्ञा दिँदै, त्यस समयको यथार्थ नबुझेका व्यक्तिहरू अहिले पुनः राजावादी सोचमा फर्किएको टिप्पणी गरे।

प्रकाशक धनेश्वरी पराजुली (तिमिल्सिना) ले पुस्तकमा लेखकको पारिवारिक, सामाजिक र शैक्षिक पृष्ठभूमिको सन्दर्भमा समाज परिवर्तनका लागि गरिएका प्रयास र योगदानको यथार्थ वर्णन गरिएको जानकारी दिइन्। सर्जक तिमिल्सिनाले ग्रन्थमा आफ्ना कमजोरीहरूलाई पनि उल्लेख गरिएको बताउँदै, विभिन्न समयमा आफूले भोगेका अनुभवलाई जीवन-विवेकका सन्दर्भमा प्रस्तुत गरिएको बताए। उनले समाजमा स्वार्थ र विभेद त्याग गर्दै, अन्यायविरुद्ध निरन्तर लागिरहनु नै सफलताको बाटो भएको बताए।

समालोचक प्रा. डा. रामनाथ ओझाले ग्रन्थलाई लेखकको व्यक्तिगत दस्तावेजमात्र नभई राष्ट्रिय राजनीतिक इतिहासको समृद्ध दस्तावेजको रूपमा प्रस्तुत गरे। उनले पुस्तकमा समकालीन राजनीतिक अवस्थाको सजीव चित्रण भएको बताए।नेपाल नाट्य प्रतिष्ठान पोखराका अध्यक्ष प्रा. डा. रामचन्द्र पोखरेलले ग्रन्थले ‘स्व-चेतना’ को गहिरो सम्बन्ध वर्तमानसँग कसरी गाँसिएको छ भन्ने विषयमा महत्वपूर्ण सन्देश दिएको टिप्पणी गरे। उनले यो ग्रन्थ अध्ययनशील अध्येता, अनुसन्धानकर्ता, विचारक र विद्यार्थीहरूका लागि समेत उपयोगी हुने विश्वास व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
Share: