लेखनाथको विकास अवरुद्ध गर्ने प्रयास खतरनाक : एकताको आह्वान

Share:

पोखरा। लेखनाथलाई पुनः पृथक नगरपालिका बनाउने प्रयासले समग्र विकासमा बाधा पुर्‍याउने भन्दै स्थानीय वडाध्यक्ष र सरोकारवालाहरूले साझा धारणा र एकताको खाँचो औंल्याएका छन्।

लेखनाथ पत्रकार मञ्चद्वारा आयोजित विकास बहसमा सहभागी वक्ताहरूले ‘नयाँ पोखरा’ को रूपमा लेखनाथको समावेशी र योजनाबद्ध विकास आवश्यक रहेको स्पष्ट पारे।

कार्यक्रममा पोखरा २६ देखि ३३ नम्बर वडाका अध्यक्षहरूले ताल संरक्षण, फोहोर व्यवस्थापन, पर्यटन प्रवर्द्धन र औद्योगिक पूर्वाधार विकासमा तीनै तहको सरकारलाई समन्वय गर्न आह्वान गरे।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले स्रोत र साधनको अधिकतम प्रयोग, पोखरा-गण्डकी विश्वविद्यालयसँग सहकार्य, र एकीकृत ताल विकास योजना कार्यान्वयनमा जोड दिए।

वक्ताहरूले विकास योजनामा अवरोध सिर्जना गर्ने सरकारी निकायहरूको भूमिका सुधार्नुपर्ने, नागरिक पनि आफ्नो कर्तव्यमा सक्रिय हुनुपर्ने, र पुराना गल्तीबाट सिक्दै नयाँ सोचका साथ अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रमको अध्यक्षता विष्णुहरि पौडेलले गरेका थिए भने अन्य वक्ताहरूले लेखनाथको पहाडी भू-भागको सौन्दर्यकरणदेखि पूर्वाधार निर्माणसम्म एकीकृत दृष्टिकोण आवश्यक रहेको बताए।

कमेन्ट गर्नुहोस्
Share: