
पोखरा। कास्की क्षेत्र नं. २ बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेशको माटो र भूगोल सुहाउँदो रहेको उल्लेख गरेका छन्।
प्रदेश सभामा आइतबार आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद कार्कीले संविधानको मर्मअनुसार नीति कार्यक्रम ल्याइएको र त्यसले प्रदेशवासीको समग्र सुख, समृद्धि र समावेशीतामा केन्द्रित रहेको बताएका हुन्।
उनले प्रस्तुत नीति तथा कार्यक्रमले राजस्व, अर्थतन्त्र र सुशासनलाई प्राथमिकता दिएकोप्रति धन्यवाद व्यक्त गर्दै, भान्सादेखि अन्य घरायसी श्रमसमेत आर्थिक क्रियाकलापका रूपमा मूल्याङ्कन गरेर त्यसलाई कुल ग्राहस्थ उत्पादनमा समावेश गर्नुपर्ने सुझाव राखे।
“घरायसी श्रम, विशेष गरी भान्साका काम र त्यसमा लाग्ने समय तथा प्रयासलाई अहिलेसम्म औपचारिक अर्थतन्त्रको भागको रूपमा मानिएको छैन,” कार्कीले भने, “गण्डकी प्रदेशले यसको सुरुआत गरेर उदाहरण प्रस्तुत गर्न सक्छ।”
उनले नीति तथा कार्यक्रममा माटो सुहाउँदो अभिव्यक्ति समेटिएको उल्लेख गर्दै बालबालिका तथा युवाहरुलाई भान्सा र कृषि सम्बन्धी सीप सिकाउनुपर्नेमा जोड दिए। “जिरादेखि हिरासम्म, नुनदेखि सुनसम्म, गोठदेखि ओठसम्मका विषयहरू समेटिनु गर्वको कुरा हो,” उनले भने।
हाल मानसिक रोगीहरूको संख्या बढ्दै गएको उल्लेख गर्दै सांसद कार्कीले सुविधा सम्पन्न मानसिक अस्पतालको स्थापना आवश्यक रहेको धारणा पनि राखे।
उनको भनाइ अनुसार, नीति तथा कार्यक्रमअनुरूप सन्तुलित बजेट निर्माण गर्न सकिएमा “समृद्ध गण्डकी” को परिकल्पना साकार हुने र त्यसले “सुनमा सुगन्ध” थप्ने विश्वास व्यक्त गरे।
