
काठमाडौँ। पूर्वराष्ट्रपति विद्या भण्डारीले पुनः सक्रिय राजनीतिमा फर्कने औपचारिक घोषणा नगर्दै नेकपा (एमाले) भित्र हलचल मच्चिएको छ। हालै चीन भ्रमणबाट फर्केकी भण्डारीको गतिविधिले पार्टीभित्र नयाँ तरंग उत्पन्न भएको हो। राष्ट्रपति बन्नुअघि उनी एमालेको उपाध्यक्ष थिइन् र यसपटक पनि उनी एमाले नेताकै हैसियतमा चीन भ्रमणमा गएकी थिइन्।
भण्डारी अहिले पूर्वी नेपालका झापा, मोरङलगायतका जिल्लामा सक्रिय भेटघाटमा छिन्। यता, काठमाडौंमा भने एमाले अध्यक्ष केपी शर्मा ओलीले तीव्र असन्तुष्टि पोखेका छन्। उनले पार्टीका नेता–कार्यकर्तालाई भण्डारीको पक्षमा खुल्न नदिने चेतावनीसमेत दिएका छन्।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै ओलीले भण्डारीप्रति स्पष्ट असन्तुष्टि व्यक्त गरे। पार्टीको महाधिवेशनबारे कुनै आधिकारिक छलफल नभएको भन्दै उनले बाहिरी ‘हल्ला’ र ‘खेल’ प्रति गम्भीर आपत्ति जनाए। उनले भने, “अब फलाना आउने अरे यहाँ, फलाना आउने रे। पार्टीमा यस्तो कुनै छलफलै भएको छैन – को महासचिव, को अध्यक्ष भन्नेबारे।”
उनले महाधिवेशनको मिति घोषणा नहुँदै आकांक्षा देखाउने र गुटगत हल्ला फैलाउने प्रयासलाई पार्टीविरोधी गतिविधिका रूपमा व्याख्या गरे। ओलीले कार्यकर्तालाई ‘फलानो ग्रुप’, ‘फलानो लाइन’ भन्ने प्रवृत्तिको पनि प्रतिकार गर्न आह्वान गरे। “तपाईंहरूले सुन्नेबित्तिकै यस्ता कुरा नगर्नुस् भन्ने जवाफ दिइहाल्नुहोला,” उनले भने।
भण्डारीको झापा भ्रमण र स्वागत
शनिबार झापा पुगेकी भण्डारीलाई एमालेका जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी, महिला संघकी उपाध्यक्ष मेनुका काफ्ले, बिर्तामोड नगर प्रमुख पवित्रा महत्तरा प्रसाईं, उपाध्यक्ष शिव ढुंगेललगायत नेताहरूले स्वागत गरेका थिए। उनीहरूले भण्डारीलाई पार्टी अध्यक्षको रूपमा हेर्ने इच्छा व्यक्त गर्दै सक्रिय राजनीतिमा फर्कन आग्रह गरे।
भण्डारी कोसी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटनमा सहभागी हुन झापा गएकी थिइन्। विराटनगरबाट झापा जाँदा उनको साथमा एमाले कोसी प्रदेश इन्चार्ज शेरधन राई, सचिव राजकुमार भण्डारी, सहसचिव देवान राईसमेत थिए। भ्रमणका क्रममा उनले विभिन्न स्थानीय नेतासँग भेटघाट गरिन्।
ओलीको जोड: एकता, अनुशासन र प्रतिस्पर्धा
ओलीले अनेरास्ववियुलाई संगठनात्मक शुद्धता र जिम्मेवार चरित्र विकास गर्न निर्देशन दिए। उनले विद्यार्थी आन्दोलनमा हिंसा, तालाबन्दी र धौंसधम्कीको स्थान नरहेको स्पष्ट पार्दै अनेरास्ववियुको आचरणबाट नै संगठन चिनिनुपर्ने धारणा राखे।
उनले पार्टीभित्रको एकतालाई प्राथमिकता दिँदै भने, “एकता, फेरि एकता र सुदृढ एकताको बाटोमा गयौं भने मात्र लक्ष्यमा पुग्न सक्छौं। मिल्नै नसक्ने अवस्थामा मित्रतापूर्ण निर्वाचनमा जान सकिने अधिकार पनि हामीसँग छ।”
सरकारको स्थायित्व र आगामी योजना
ओलीले सरकार सही नीति र मार्गमा अघि बढिरहेको दाबी गर्दै सत्ता गठबन्धनमा कुनै मतान्तर नरहेको बताए। उनले विपक्षीहरूले सत्ता साझेदारबीच फाटो ल्याउने प्रयास असफल भएको भन्दै आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने लक्ष्य दोहोर्याए। “हामी मिसन २०८४ अन्तर्गत बहुमतसहितको सरकार बनाउने तयारीमा छौं,” उनले भने।
