पोखरामा ३५० गाइड तयार पार्ने तालिम सुरु, पर्यटन रोजगारीमा नयाँ अवसर

Share:

पोखरा। ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा पोखरामा ट्रेकिङ गाइड तथा पोटर गाइड तालिम सुरु भएको छ। तालिम पोखरा-६ स्थित ताल बाराही माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको छ।

तालिमको उद्घाटन नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि राज लामिछानेले गरेका थिए। उनले पोखरामा पर्यटक आगमन दिनप्रतिदिन बढ्दो रहेको उल्लेख गर्दै दक्ष जनशक्तिको आवश्यकता बढेको बताए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधा अन्तर्राष्ट्रिय उडान सुरु हुने सम्भावना रहेको र सोही कारण भविष्यमा गाइडहरूका लागि रोजगारीको अभाव नहुने बताए।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथुम) का तालिम संयोजक अजय ढकालले तालिमबाट दक्ष र सक्षम गाइड उत्पादन हुने विश्वास व्यक्त गरे। उनले गाइडहरूले नेपालबारे सरल र प्रभावकारी ढंगले जानकारी दिन सक्नुपर्ने बताए।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेलले गाइडहरूले राष्ट्रको प्रतिनिधिका रूपमा काम गर्नुपर्ने बताए। टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले अबको दिनमा पदयात्रामा गाइड अनिवार्य बनाउने तयारी भइरहेको जानकारी गराए। उनले तालिम प्राप्त, लाइसेन्स प्राप्त गाइडलाई मात्र मान्यता दिइने स्पष्ट पारे।

नेपाल पर्यटन बोर्ड र नाथुमको सहकार्यमा सञ्चालन गरिएको तालिमका संयोजक तथा टान गण्डकीका द्वितीय उपाध्यक्ष मोहनप्रसाद सुवेदीले दरखास्त आव्हानपछि अन्तरवार्ताबाट ३५० जना छनोट गरी तालिम दिइएको जानकारी दिए। टान गण्डकीका प्रथम उपाध्यक्ष तिर्थराज सुवेदीका अनुसार टानले विगतमा सञ्चालन गरेका विभिन्न तालिमहरूबाट करिब ३,००० जनाले तालिम प्राप्त गरिसकेका छन्।

टान गण्डकीका सचिव गोपालकृष्ण संग्रौलाका अनुसार ट्रेकिङ गाइडका लागि २५ दिन र पोटर गाइडका लागि १५ दिनको तालिम सञ्चालन गरिनेछ। कार्यक्रममा ताल बाराही माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण न्यौपाने तथा नाथुमका तालिम अधिकृत रतन साउदले समेत धारणा व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: