
पोखरा। नेपाल बास्केटबल संघ गण्डकी प्रदेशको आयोजनामा पोखरामा सम्पन्न निर्णायक प्रशिक्षक तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा गण्डकी प्रदेशका सामुदायिक विद्यालयका खेल शिक्षक तथा पूर्व बास्केटबल खेलाडीहरूसहित ३२ जनाको सहभागिता रहेको थियो।
तीन दिनसम्म सञ्चालन भएको उक्त तालिमको समापन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले निर्णायकहरूको प्रमुख भूमिका खेलकुद प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्नुमा रहने उल्लेख गर्दै सहभागीहरूलाई जिम्मेवार र सजग भएर भूमिका निर्वाह गर्न आग्रह गरे।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एम.बी. आस्था मगरले निर्णायकहरूको दक्षता र जिम्मेवारीका कारण प्रतियोगिता व्यवस्थित र सफल हुने हुँदा तालिममा सिकेका सीप र ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई सुझाव दिए।
प्रशिक्षार्थी इन्द्र गुरुङले प्रदेशभरिका निर्णायकहरूलाई सहभागी गराई तालिम आयोजना गर्नु बास्केटबल संघको सराहनीय प्रयास भएको बताउँदै तालिमले थप ऊर्जा प्रदान गरेको अनुभव व्यक्त गरे। कार्यक्रममा बास्केटबल संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जुम प्रसाद गुरुङ, संघका सल्लाहकारद्वय सुनिल र नारायण शर्मालगायतले तालिममा प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।
तालिममा अन्तर्राष्ट्रिय स्तरका रेफ्री राजकुमार महर्जनले सहजीकरणको भूमिका निर्वाह गरेका थिए। नेपाल बास्केटबल संघ गण्डकी प्रदेशका अध्यक्ष ध्वोज कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य संघका उपाध्यक्ष किरण सापकोटाले राखेका थिए भने सञ्चालन महासचिव विष्णु कुमार गुरुङले गरेका थिए।
