प्रचण्डको संकेत: ‘कास्कीबाट चुनाव लड्न सक्छु’

Share:

पोखरा । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्कीबाट आगामी संघीय निर्वाचन लड्ने संकेत दिएका छन्। मंगलबार पोखरा महानगरपालिकाको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले कास्की र पोखरासँगको सम्बन्ध अटुट रहेको भन्दै चुनावी सम्भावनाको ढोका खुला राखेका हुन्। ‘मलाई धेरैजसो बुद्धिजीवी र कार्यकर्ताहरूले कास्की आउन आग्रह गर्नुभएको छ,’ प्रचण्डले भने, ‘म तपाईंहरूसँग छु। म जहाँबाट लडूँ वा नलडूँ, कास्की र पोखरासँगको सम्बन्ध यथावत् रहनेछ।’

राजनीतिक मानचित्र बदल्ने संकेत

कार्यकर्ताबाट कास्कीबाट चुनाव लड्न चर्को दबाब आउन थालेपछि प्रचण्डले आफूले यसबारे गम्भीरतापूर्वक सोचिरहेको बताए। उनले भने, ‘मलाई लाग्छ, ६ देखि ८ महिनाभित्र कास्की र पोखराको राजनीतिक मानचित्र बदल्न सकिन्छ। नयाँ पोखरा, नयाँ कास्की निर्माण गर्न सकिन्छ।’ प्रचण्डले विगतमा पटकपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका छन्। २०६४ मा काठमाडौं–१० र रोल्पाबाट उम्मेदवारी दिएर दुबै ठाउँबाट जितेका उनले त्यसपछि काठमाडौं रोजेका थिए। २०७० मा काठमाडौंमा पराजित भए पनि सिराहाबाट जिते। २०७४ मा चितवन–२ र २०७९ मा गोरखा–२ बाट चुनाव जितिसकेका छन्।

जन्मभूमि कास्कीमै फर्कने संकेत

कास्कीको अन्नपूर्ण गाउँपालिका- ९साविक ढिकुरपोखरी-२० लेवाडेमा जन्मिएका प्रचण्डले प्रारम्भिक शिक्षा पनि यहीँबाट सुरु गरेका थिए। यसै कारण उनले कास्की फर्किनु स्वाभाविक हुने संकेत गरेका हुन्। प्रचण्डले अब फेरि देशमा क्रान्तिकारी आन्दोलनको आवश्यकता औंल्याउँदै भने, ‘जनयुद्धको तयारीदेखि गणतन्त्र स्थापनासम्मको यात्रा जस्तै अहिले फेरि जनताले ठूलो जिम्मेवारी दिन खोजेका छन्। यो हाम्रो नयाँ अग्निपरीक्षा हो।’

उनले जातीय, लैंगिक, सामाजिक विविधता समेट्ने समावेशी आन्दोलनलाई फेरि सशक्त बनाउने बेला आएको बताए। ‘महिला, दलित, आदिवासी, मधेसी, मुस्लिम, थारु लगायत समुदायले फेरि एकपटक माओवादीप्रति भरोसा राख्न थालेका छन्,’ उनले जोड दिए।

‘हामी तेस्रो शक्तिमा झर्‍यौं, त्यो कमजोरी हो’

प्रचण्डले विगतका निर्वाचनमा माओवादीको घट्दो प्रभावप्रति आत्मालोचना गरे। ‘पहिलो शक्ति भएका हौं, अहिले तेस्रो स्थानमा छौं, त्यो हाम्रो कमजोरी हो,’ उनले भने, ‘शान्ति प्रक्रिया र गणतन्त्रको नेतृत्व गरेकै नाताले मैले त्यो जिम्मेवारी लिनुपर्छ।’

पार्टी एकता र नयाँ नेतृत्वको प्रवेश

उनले माओवादी केन्द्रमा पार्टी एकता र पुनर्गठनको प्रक्रिया सुरु भइसकेको बताए। बाबुराम भट्टराई नेतृत्वको नेसपा परित्याग गरी केन्द्रीय सचिवालय सदस्य किरण थापा (अमोद) माओवादीमा प्रवेश गरेका छन्। उनीसँगै गण्डकी प्रदेशका नेता शम्भु खाती, लक्ष्मी खाती, कास्की अध्यक्ष राजु क्षेत्री लगायत १४ जना नेता माओवादीमा समाहित भएका छन्। उनीहरूलाई अध्यक्ष दाहालले स्वागत गरेका थिए। प्रचण्डले सुकुम्बासी समस्या लगायतका मुद्दामा माओवादी नेतृत्वले पहल गरिरहेको उल्लेख गर्दै भने, ‘जरूरत परे संसद् मात्रै होइन, सडक र सरकारका मोर्चाबाट पनि लडाइँ लड्नेछौं।’

कमेन्ट गर्नुहोस्
Share: