
पोखरा। पोखरामा आजदेखी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा रङ्गशालास्थित बहुउद्धेश्शीय कभर्डहलमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै विजयी सुरुवात गरेको छ ।
यसैगरी दोस्रो खेलमा टिप टप न्यू डायमण्ड क्लब विजयी भयो । पहिलो खेलमा पुलिसले २५-२१, २७-२५ र २५-१७ ले खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । यसैगरी दोस्रो खेलमा टिप टप न्यू डायमण्ड क्लबले एभरेष्ट क्लबलाई २५-११, २५-१८ र २५-१० को सोझो सेटमा हराउन सफल भयो ।
यही जेठ ३१ गतेसम्म पोखरा रङ्गशालाभित्रको बहुउद्धेश्शीय कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा नेपालका प्रमुख क्लब तथा टिमहरू सहभागी छन् । प्रतियोगितामा विभागिय टोली नेपाल पुलिस क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश टिम, एभरेष्ट भलिबल क्लब, न्यू डायमण्ड युथ स्पोट्र्स क्लब र स्टेप रामपुर गरी छ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिता लिग तथा नकआउट चरणमा सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको च्याम्पियन टोलीले रु छ लाख, उपविजेताले रु तीन लाख, र तेस्रो हुने टिमले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले रु २० हजार, तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।
