पोखरामा भारतीय रियल स्टेट लगानीको आह्वान : अध्यक्ष कार्कीले DLF प्रतिनिधिसँग गरे आग्रह

Share:

पोखरा। पोखरा उद्योग वाणिज्य संघ (पोउवा संघ) का अध्यक्ष गोकर्ण कार्कीले भारतीय रियल स्टेट उद्योगका प्रतिनिधिहरूलाई नेपालमा, विशेषगरी पोखरामा, लगानी गर्न आग्रह गरेका छन्।

दिल्ली ल्याण्ड फाइनान्स (DLF) का प्रतिनिधिहरूसँगको पोखरामा आयोजित छलफलका क्रममा अध्यक्ष कार्कीले नेपालका व्यवसायीसँग साझेदारीमा काम गर्न सकिने सम्भावनाहरू औँल्याउँदै पोखरालाई लगानीका लागि उपयुक्त गन्तव्यको रूपमा चित्रण गरे।

DLF सन् १९४७ मा स्थापना भएको भारतको अग्रणी रियल स्टेट कम्पनी हो, जसले गुरुग्रामदेखि मुम्बई र विदेशसम्म आवासीय बस्ती र अपार्टमेण्ट निर्माण गर्दै आएको छ।

अध्यक्ष कार्कीले भने, “पोखरा भारतीय लगानीकर्ताका लागि उत्कृष्ट गन्तव्य हो। पोखरा दिल्लीभन्दा धेरै टाढा छैन, अझ गोरखपुर, बिहार र उत्तर प्रदेशका विभिन्न सहरहरूबाट यहाँ आफ्नै सवारी साधनमा एकै दिनमा आइपुग्न सकिन्छ। अहिले त्यहाँ गर्मी अत्यधिक छ, यस्तो अवस्थामा गर्मी छल्न र समर भ्याकेसन मनाउन पोखराभन्दा सुरक्षित र शीतल ठाउँ अर्को हुन सक्दैन।”

उनले पोखराको पर्यटन क्षेत्रमा भारतीय लगानीको अपार सम्भावना रहेको भन्दै आग्रह गरे कि भारतका प्रमुख सहरहरूसँग पोखरालाई जोड्ने हवाई उडानका लागि पनि जनस्तरमा पहल आवश्यक छ। “हामी पोखरा-दिल्ली, मुम्बई, लखनउ, वाराणसी, अयोध्या लगायत सहरहरूसँग सिधा उडान स्थापनाको पहल गर्दै आएका छौँ,” उनले भने, “यस्ता उडानहरूले भारतीय धार्मिक पर्यटक, उद्योगी–व्यवसायी तथा उपचारको लागि दिल्ली जाने नेपाली नागरिकलाई पनि ठुलो सुविधा हुनेछ।”

कार्यक्रममा DLF का डेपुटी जनरल म्यानेजर प्रियंका ओझा, सेल्स म्यानेजर अतुल डोन्डे, सहायक म्यानेजर प्रतिक सिंह लगायतले कम्पनीका गतिविधिबारे जानकारी दिएका थिए। कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखे, वरिष्ठ उपाध्यक्ष उत्तममान भण्डारी, उद्योग उपाध्यक्ष दीनेश बास्तोला, वाणिज्य उपाध्यक्ष बलराम आचार्य, कोषाध्यक्ष मनोज कुमार श्रेष्ठ, उपमहासचिव सन्दीप प्रधानाङ्ग लगायत संघका अन्य पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: