
पोखरा। पर्वतीय पदयात्रालाई सुरक्षित, व्यवस्थित र पेशागत बनाउने उद्देश्यले गाइड र टिम्स कार्ड (TIMS Card) बिना पदयात्रामा जान नपाउने व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने माग सरोकारवालाले गरेका छन्। गण्डकी प्रदेशमा कार्यरत तालिम प्राप्त पर्यटक पथप्रदर्शक, ट्रेकिङ गाइड र पोर्टर गाइडहरूसँग गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा सहभागीहरूले हाल गाइडको लाइसेन्स नभएकाहरूले पनि पथप्रदर्शकको काम गरिरहेको भन्दै यस्तो गतिविधिलाई तत्काल रोक्नुपर्ने बताए।
नेपाल पर्यटन बोर्डद्वारा जारी “पदयात्री सूचना व्यवस्थापन प्रणाली (TIMS) सम्बन्धी मापदण्ड, २०७९” पूर्णरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राखिएको थियो। उद्योग तथा पर्यटन मन्त्रालय गण्डकीका सचिव इन्द्रप्रसाद बस्यालले सरकारले प्रदान गरेको गाइड लाइसेन्सलाई मान्यता दिँदै लाइसेन्स प्राप्त गाइडहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। “काम गर्न लाइसेन्स नभएकाले गरिरहेकाहरूलाई नियमन गर्न आवश्यक छ,” उनले भने।
टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले नेपालमा पदयात्रा गर्न आउने पर्यटकहरूको संख्या उच्च भएकाले पदमार्गको संरक्षण, व्यवस्थापन र गाइड अनिवार्यता सुनिश्चित गर्नुपर्ने बताए। उनले TIMS कार्ड अनिवार्यता विषयमा हाल प्रधानमन्त्री कार्यालयसँग छलफल जारी रहेको जानकारी दिए। नेशनल पार्क र संरक्षित क्षेत्रहरूमा गाइड अनिवार्य गर्नुपर्ने सुझाव दिँदै उनले चेकपोस्ट नहुँदा निर्णय कार्यान्वयनमा समस्या आएको गुनासो पनि गरे। नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथुम) का विभागीय प्रमुख अजयकुमार ढकालले पर्यटन क्षेत्र व्यवस्थित गर्न गुणस्तरीय तालिम अपरिहार्य रहेको भन्दै नाथुमले पोखरामै ट्रेकिङ गाइड र पोर्टर गाइड तालिम सञ्चालन गरिरहेको बताए।
त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पसका सह–प्राध्यापक दीपक वास्तोला र पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले लाइसेन्स नभएकाहरूलाई संरक्षण दिइँदा योग्य गाइडहरूले रोजगारी पाउन नसकेको दुखेसो पोखे। मजदुर संगठनका प्रतिनिधिहरूले पर्यटन श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग गरे। उनीहरूका अनुसार सिजनको समयमा मात्रै काम पाइने भएकाले जीविकोपार्जनमा कठिनाइ भएको छ।
कार्यक्रम अखिल नेपाल मजदुर संगठनका अध्यक्ष विष्णु देवकोटाले पर्यटन श्रमिकहरूको सामाजिक सुरक्षाका लागि राज्यले पहल गर्नुपर्ने बताए। कार्यक्रम नाथुम काठमाडौंको आयोजनामा, टान गण्डकीको समन्वयमा र नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालयको सहकार्यमा आयोजित गरिएको थियो।
