बुटबल र पोखराका व्यवसायीबिच आपसी सहकार्यमा जोड

Share:

पोखरा। जाउँ है पोखरा अभियान अन्तर्गत शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित कार्यक्रममा दुई क्षेत्रका व्यवसायी साझा मुद्दामा एक भएर अगाडि बढ्नुपर्ने विषयमा जोड दिइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उचित सञ्चालनका लागि सरकारलाई संयुक्त दवाव दिनुपर्ने विषयमा जोड दिइयो। पोखरा र बुटबलका व्यवसायी पर्यटनका विषयमा सहकार्य गरेर अगाडि बढ्नु पर्ने विषयमा पनि कार्यक्रममा जोड दिइएको थियो।

होटल संघ पोखरा नेपालले पश्चिम नेपालका मुख्य शहरहरुलाई लक्षित गर्दै सञ्चालन गरेको जाउँ है पोखरा अभियान अन्तर्गत शुक्रबार बुटबलमा आयोजित कार्यक्रममा व्यवसायी र सञ्चारकर्मीले विचार, जिज्ञासा र सुझाव राखेका थिए। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकलाई लक्षित गरी लेकसाइडलाई २४ घण्टा खुलाउने पहल आफू कास्की हुँदा भएको समरण गराए। लुम्बिनीको आध्यात्मिक पर्यटनलाई पोखराको नेचर, कल्चर र एड्भेन्चरसँग जोड्नुपर्ने सुझाव उनले दिए।

आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य लक्ष्य अभियानले लिएको संयोजक एवम् आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। दुई दशक अघि देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको यो अभियान गत चैतमा पूर्वी नेपालमा सम्पन्न भएको थियो। विदेशी मात्र नभई स्वदेशी पनि पर्यटक हुन स्क्छन् भन्ने मान्यतालाई अनुशरण गर्दै पर्यटनका माध्यमबाट सातै प्रदेश जोड्ने उद्देश्यले अभियान संचालन गरिएको अध्यक्ष सुवेदीले बताए।

हानका केन्द्रीय सदस्य एवम् होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद् अध्यक्ष भरतराज पराजुलीले पर्यटनका लागि पहुँच अर्थात् एक्सेसिबिलिटी महत्वपूर्ण हुने भनाई राखे। पोखरा विमानस्थलको उचित सञ्चालनमा सरकार गंभीर हुनुपर्ने भनाई उनले राखे। उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धनमा यो अभियान

सञ्चालन भएको हो। पश्चिम नेपालबाट पर्यटकलाई पोखरा भ्रमण गर्न निमन्त्रणा गर्ने र पोखराबाट समेत पर्यटकलाई पश्चिम ल्याउने अभियानको अर्को उद्देश्य हो। साथै पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन समेत अभियान सार्थक हुने संघले विश्वास गरेको छ।

बिहीबार सुरु भई असार दुई गते सकिने यस पटकको जाउँ है पोखरा अभियान नेपालगन्ज, सुर्खेत र दाङको घोराहीमा पनि सञ्चालन हुनेछ। बुटवलमा आयोजित कार्यक्रममा हानका केन्द्रिय सदस्यद्वय सीपी श्रेष्ठ र गोपाल राना, होटल व्यवसायी महासंघका महेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति दिनेश पाण्डे लगायतले भनाई राखेका थिए।

यसअघि पाल्पाको श्रीनगरमा बिहीबार आयोजित कार्यक्रममा अभियानको टोलीलाई स्वागत गर्दै पाल्पाले पोखराबाट धेरै सिक्न बाँकी रहेको स्थानीय व्यवसायीले बताएका थिए। पाल्पा होटल संघ नेपाल र पाल्पा नगरपालिका टुरिजम एक्सन कमिटि (ट्याक्ट) ले यो कार्यक्रम आयोजना गरेका थिए । पाल्पा हानका अध्यक्ष जयन्त भुसालले पोखरा र पाल्पाले पर्यटन प्रबद्र्धनका गतिविधिमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने भनाई राखे।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले आन्तरिक र भारतीय पर्यटकले पोखराको पर्यटन धानिन सकेको भन्दै पाल्पालाई पर्यटनमा अगाडि बढ्न पोखराको साथ रहने विश्वास दिलाए।कार्यक्रममा ट्याक्टका संयोजक एवम् तानसेन ६ का वडा अध्यक्ष सागरमान महर्जन र पाल्पा होटल संघका उपाध्यक्ष लक्ष्मण बस्यालले पनि भनाई राखेका थिए।

कमेन्ट गर्नुहोस्
Share: