
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा लगातारको वर्षाका कारण सडक हिलाम्मे बनेको छ, जसले गर्दा सवारी आवागमन प्रभावित भएको छ। चिप्लो र हिलो सडकका कारण विशेषगरी दुम्किबासबाट दाउन्नेतर्फको उकालो चढ्न सवारी साधनलाई कठिनाइ भएको इलाका प्रहरी कार्यालय, दुम्किबास नवलपुरले जनाएको छ।
सडक निर्माण कार्य अझै निर्माणाधीन अवस्थामा रहेकाले झनै समस्या भएको हो। पानी परेपछि सडकमा हिलो जम्दा लोड भएका ठूला सवारीसाधनहरू चल्न सकेका छैनन् भने अन्य गाडीहरू पनि बिस्तारै मात्र अगाडि बढिरहेका छन्। यसले गर्दा सवारी साधनको लामो लाइन लागेको र यात्रुहरू घण्टौंसम्म बाटोमै रोकिनुपरेको प्रहरीले जनाएको छ।
नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डिएसपी विरदत्त पन्तका अनुसार, ट्रक बिग्रिएर बीच सडकमा रोकिएको कारण केही दिनदेखि नै ट्राफिक जामको समस्या रहेको थियो। अहिले उक्त ट्रकलाई हटाइएको भए पनि हिलो सडकका कारण अझै सवारी सञ्चालनमा अवरोध भैरहेको छ।
