पश्चिम नेपाल जोड्दै ‘जाउँ है पोखरा’ अभियान सम्पन्न, कनेक्टिभिटीमा व्यवसायीको जोड

Share:

पोखरा । स्तरीय बस र हवाई सेवा मार्फत् पोखरा तथा पश्चिम नेपाललाई जोडेर आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सकिने विषयमा पर्यटन व्यवसायीहरू एकमत भएका छन्। होटल संघ पोखरा नेपालद्वारा जेठ २९ गतेदेखि असार २ गतेसम्म सञ्चालन गरिएको ‘जाउँ है पोखरा’ अभियानको क्रममा विभिन्न शहरहरूमा आयोजित अन्तरक्रिया तथा पत्रकार सम्मेलनहरूमा उक्त निष्कर्ष निकालिएको हो।

अभियान अन्तर्गत पाल्पा, बुटवल, नेपालगञ्ज, सुर्खेत र दाङ (घोराही) लगायतका शहरहरूमा कार्यक्रमहरू सम्पन्न गरिएको थियो। कार्यक्रममा व्यवसायीहरूले आपसी सहकार्य गर्दै स्तरीय बस सेवा सञ्चालन गर्न सकिने र हवाई सेवा कम्पनी तथा स्थानीय तहसँग समन्वय गरी पोखरासँग सिधा हवाई सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पोखरासँग सिधा हवाई सेवा सञ्चालनका लागि सम्बन्धित निकायमा कुरा उठाउने प्रतिबद्धता जनाए। त्यस्तै, दाङको घोराहीमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले सीमावर्ती नाकाहरूमा भारतीय पर्यटकहरूलाई पर्ने चेकजाँचको झन्झटबारे गुनासो आइरहेको उल्लेख गर्दै यसमा सुधार आवश्यक रहेको बताए।

संघका अध्यक्ष एवं अभियान संयोजक लक्ष्मण सुवेदीले पर्यटनको लागि पहुँच (कनेक्टिभिटी) पहिलो आवश्यकता रहेको उल्लेख गर्दै सातै प्रदेशलाई स्तरीय बस तथा हवाई सेवाबाट जोड्ने लक्ष्य रहेको बताए। उनले करिब दुई दशक अघि सुरु गरिएको यो अभियान द्वन्द्वकालीन चुनौतीका बीच आरम्भ गरिएको भए तापनि यसको प्रभाव सकारात्मक रहँदै आएको र आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यताका साथ यसलाई निरन्तरता दिइएको स्पष्ट पारे।

अध्यक्ष सुवेदीका अनुसार, विगतमा पोखरा आउने पर्यटकमध्ये दुईदेखि तीन प्रतिशत मात्र नेपाली हुन्थे भने अहिले सो आँकडा बढेर करिब ४० प्रतिशत पुगेको छ।

पोखरा महानगरपालिकाद्वारा घोषित पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन यो अभियान सहायक हुने विश्वास गरिएको छ। सुवेदीका अनुसार, पोखरामा हाल पाँच खर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको छ, एक हजार दुई सय होटलहरूमा ४० हजार ओछ्यान क्षमता रहेको छ र करिब २० हजार जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।

सुर्खेतमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य महासंघ कर्णालीका अध्यक्ष पदमबहादुर शाही, बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडका उपाध्यक्ष किरण पोखरेल, नेपाल पत्रकार महासंघ सुर्खेतका सचिव गोविन्द खत्री र संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले विचार व्यक्त गरेका थिए।

त्यस्तै, घोराहीमा आयोजित कार्यक्रममा उप–प्रमुख हुमाकुमारी डीसी, पर्यटन विज्ञ दीपेन्द्र पहारी, पत्रकार सविन प्रियासन र विपुल पोखरेल, होटल व्यवसायी महासंघ दाङका अध्यक्ष ईश्वरकुमार बुढामगर तथा उद्योग वाणिज्य संघ दाङका वरिष्ठ उपाध्यक्ष एवं हान दाङका अध्यक्ष नरेश श्रेष्ठले आफ्नो भनाइ राखेका थिए। कार्यक्रमको सञ्चालन संघकी सचिव पार्वता पाण्डेले गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: