वालिङमा वडाध्यक्षद्वारा रास्वपाका नेतामाथि फलामे रड आक्रमण, एकको हातको हड्डी क्र्याक

Share:

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका-१० का वडाध्यक्ष सुनील खनालले आँधीखोला संरक्षणको विरोध कार्यक्रमबाट फर्किरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई नेतामाथि मंगलबार फलामको रडले ज्यान लिने उद्देश्यसहित आक्रमण गरेका छन्। कांग्रेसबाट निर्वाचित वडाध्यक्ष खनालले रास्वपाका केन्द्रीय सदस्य मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभाग सदस्य दिनकर नेपाल (दिनेेश तिवारी) लाई वालिङ-९, सुर्कौदीमा आक्रमण गरी घाइते बनाएका हुन्।

दिनेश नेपालको हातको हड्डी क्र्याक भएर थप उपचारका लागि पोखरा लगिएको छ भने मेघ आले प्राथमिक उपचारपछि घर फर्किएका छन्। हेलमेटको सिसा फुट्ने गरी टाउकोमा प्रहार गरिएको र नेपालले हातले छेक्दा चोट लागेको जानकारी दिएका छन्। पीडित नेपालले बताएअनुसार आँधीखोला दोहनविरुद्धको अभियानपछि मोटरसाइकलमा फर्किँदै गर्दा वडाध्यक्ष खनालले बाटोमा रोकेर एक्कासि फलामको रडले आक्रमण गरेका थिए। “हामीमाथि ज्यानै लिने उद्देश्यले हमला भएको छ। जनप्रतिनिधिबाट यस्तो स्तरको गुन्डागर्दी हुनु गम्भीर विषय हो,” उनले भने।

प्रहरी अनुसन्धानमा, खनाल फरार

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी प्रसन्नराज चौधरीले घटनाको सूचना आएको र अनुसन्धान अघि बढाइएको बताएका छन्। “वडाध्यक्ष सम्पर्कविहीन छन्, फरार अवस्थामा छन्। पीडितले जाहेरी दिएपछि कानुनी प्रक्रिया अघि बढ्छ,” उनले भने।

मेयरको स्पष्टीकरण : कानुनी प्रक्रिया अनुसार गिट्टी निकालिएको वालिङ नगरपालिकाका मेयर कृष्ण खाँडले सुम्दीको रहघाटबाट २५०० घनमिटर ढुंगा, गिट्टी निकाल्ने निर्णय एक साताअघि कानुनी प्रक्रियाअनुसार गरिएको भए पनि स्थानीयले विरोध गरिरहेको जानकारी दिए। उनले वडाध्यक्ष घटनास्थल गएको सुनेको र थप बुझ्न भोलि गाउँ जाने बताएका छन्।

रास्वपाको कडा प्रतिक्रिया : जघन्य आक्रमण, तत्काल कारबाहीको माग

रास्वपाले प्रेस विज्ञप्ति जारी गर्दै यो घटनालाई योजनाबद्ध आक्रमण भन्दै दोषीलाई तुरुन्त गिरफ्तार गरी हदैसम्मको कारबाही गर्न माग गरेको छ। कार्यवाहक प्रवक्ता मनीष झाले, “देशमा लुटतन्त्रविरुद्धको हाम्रो आन्दोलनप्रति भएको आक्रोशको परिणामस्वरूप आपराधिक हमला भएको हो,” भनेका छन्।

कमेन्ट गर्नुहोस्
Share: