हेमजामा पाँचौं हिले महोत्सव असार १५ गतेदेखि सुरु हुने

Share:

पोखरा । पोखरा-२५ हेमजास्थित देविस्थान सेवा समाजको आयोजनामा पाँचौं हेमजा हिले महोत्सव-२०८२ यही असार १५ गतेदेखि विष्णुपादुका मन्दिर परिसरमा आयोजना हुने भएको छ।

‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सव हेमजाको धार्मिक, सांस्कृतिक र कृषिमा आधारित जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिँदैछ।

महोत्सवको मूल आयोजक समितिको संयोजकत्व क्लब उपाध्यक्ष चन्द्रकला पोखरेलले सम्हालेकी छन् भने विविध उपसमिति गठन गरी तयारी तीव्र पारिएको छ।

देविस्थान सेवा समाजका अध्यक्ष कृष्णमान श्रेष्ठले हिले महोत्सवको निरन्तरता विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन, आन्तरिक तथा बाह्य पर्यटन प्रवाह वृद्धि, कृषकहरूको सम्मान र युवालाई कृषि क्षेत्रमा प्रेरित गर्ने उद्देश्यले दिइएको जानकारी दिए।

महोत्सवमा विभिन्न रोचक र परम्परागत प्रतियोगिता समावेश गरिने संयोजक पोखरेलले जानकारी दिइन्। पुरुष तथा महिला रस्साकस्सी, पुरुष तथा महिला हिले दौड ,घैटो फुटाउने, हिलोमा माछा समात्ने, धान रोप्ने प्रतियोगिता हल गोरु दौड, म्युजिकल बेलुन, हिले नाँच जस्ता कार्यक्रमहरू रहने छन्। महोत्सवमा हेमजाली कृषक, स्थानीय समुदाय र पर्यटकहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: