ब्रिटिस क्याम्पमा जेपी क्रसको १०० वर्षे जन्मोत्सव

Share:

पोखरा। ब्रिटिसका नेपाली नागरिक लेफ्टनेन्ट कर्णेल जे. पी. क्रसले शनिबार १०० वर्ष पूरा गरेका छन्। उनको शताब्दी जन्मोत्सव पोखरास्थित ब्रिटिश गोर्खाज नेपाल क्याम्पमा भव्य रूपमा मनाइएको छ। ब्रिगेड अफ गोर्खाको इतिहासमा सबैभन्दा प्रसिद्ध ब्रिटिश अधिकारीहरूमध्ये एक जे. पी. क्रसको जन्मोत्सवमा बेलायती राजदूत रब फेन, ब्रिटिश गोर्खाका सेवारत तथा अवकाशप्राप्त अधिकारी र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

ब्रिटिश गोर्खाज नेपालका कमाण्डर कर्णेल ड्यान रेक्स (MBE) ले यो कार्यक्रम पोखराको क्याम्पमा मात्र सीमित नभई सम्पूर्ण ब्रिगेड अफ गोर्खा र ब्रिटिश सेनामा पनि प्रतिध्वनित भएको बताए। “जे.पी. साहेबसँगको सम्बन्धमा गर्व गर्ने धेरै नेपालीहरूले यो विशेष क्षणलाई नजिकबाट हेरेका छन् र आफूलाई यस अवसरसँग जोडिरहेका छन्,” उनले भने।

जन फिलिप क्रस (O.B.E.) – जसलाई सबैले जे. पी. क्रसको नामले चिन्छन् – करिब ४० वर्षसम्म ब्रिटिश गोर्खामा सेवा गरेपछि विगत ४९ वर्षदेखि नेपालमा स्थायी रूपमा बसोबास गर्दै आएका छन्। केही वर्षअघिदेखि उनी नेपाली नागरिकसमेत भएका छन्। आफैंलाई ‘बेलायतमा जन्मेका नेपाली’ भन्न रुचाउने क्रस पहिलो पटक २१ वर्षको उमेरमा नेपाल आएका थिए-आजभन्दा ८० वर्षअघि।

आफ्नो सैन्य अनुभव र जीवनबारे उनले १९ वटा पुस्तक लेखेका छन्। आफ्ना लेख, टिप्पणी, तथा संस्मरणहरूमा उनले सधैं गोर्खा सैनिकप्रतिको उच्च सम्मान प्रकट गरेका छन्। नेपाल, यहाँका मानिसहरू, र गोर्खा समुदायप्रतिको उनको गहिरो लगावले उनको नामलाई नेपाली समाजमा स्थायी रूपमा स्थापित गरेको छ।

गोर्खा सैनिक र लेखकको रूपमा विशिष्ट योगदान दिने क्रस जंगल युद्ध रणनीति र विद्रोहविरुद्धको रणनीतिमा पनि विशेषज्ञ मानिन्छन्। उनले प्रहरी अधिकारी, रक्षा सहचारी, तथा गोर्खा भर्ती अधिकारीको रूपमा पनि सेवा गरेका छन्। उनी एक दक्ष भाषाविद् हुन्, जसले नेपाली र यसको विभिन्न भेगीय भाषाहरू धाराप्रवाह बोल्न सक्छन्।

सैन्य सेवाका क्रममा उनले बर्मा, इन्डो–चाइना, मलाया, बोर्नियो, पाकिस्तान, भारत, हङकङ, र नेपाल लगायतका थुप्रै देशहरूमा सेवा दिएका छन्। यही समर्पण र योगदानको कारण उनको १०० औं जन्मोत्सव विशेष अवसरका रूपमा मनाइएको हो।

कमेन्ट गर्नुहोस्
Share: