शिक्षासेवी टुवराज बास्तोलाको निधन

Share:

पोखरा । वरिष्ठ शिक्षासेवी टुवराज बास्तोलाको ८२ वर्षको उमेरमा निधन भएको छ। पोखरा-११ फूलबारीस्थित निवासमा आइतबार मध्यान्ह १२स्५५ बजे उनको निधन भएको हो। सम्पूर्णानन्द विश्वविद्यालय, बनारसबाट संस्कृत साहित्यमा प्रथम श्रेणीमा आचार्य र विद्यावारिधि उपाधि प्राप्त गरेका बास्तोलाले आफ्नो जीवनको दीर्घ समय शिक्षासेवा तथा सामाजिक गतिविधिमा समर्पित गरे।

वाराही माध्यमिक विद्यालयबाट निरन्तर अध्यापन गरेर सेवा निवृत्त भएपछि पनि उनी विभिन्न शैक्षिक, सामाजिक, धार्मिक तथा साहित्यिक संस्थाहरूमा सक्रिय रहे। उनी शिवशक्ति मावि, शिक्षा महाविद्यालय र रामेश्वर मन्दिर फूलबारीका पूर्वअध्यक्ष थिए। साथै, लेखनाथ साहित्य प्रतिष्ठानका सल्लाहकार तथा लेखनाथ जन्मघर जीर्णोद्धार समितिका संयोजक समेत रहनुभएको थियो। उनले शिवशक्ति माविमा ‘प्रतिभा सम्मान कोष’ स्थापना गरेका थिए।

विभिन्न धार्मिक अनुष्ठानहरूमा समेत उनको उल्लेखनीय सहयोग रहँदै आएको छ। शिक्षा क्षेत्रमा योगदानको कदर स्वरूप उनी महेन्द्र विद्याभूषणबाट सम्मानित भएका थिए। बाराही मावि, शिवशक्ति मावि, शिवशक्ति क्याम्पस, शिक्षा महाविद्यालय, लेखनाथ साहित्य प्रतिष्ठान, नवनीत साहित्य सागर, विन्दुवासिनी संस्कृत विद्यापीठलगायतका संस्थाहरूबाट उनी सम्मानित भएका थिए।

स्व. बास्तोलाका धर्मपत्नी मुगादेवी, छोरा रमेश, दुई छोरी प्रभा पौडेल र कमला पराजुली, पाँच नातिनातिना, एक दाजु, तीन भाइ र एक बहिनी छन्। शवयात्रा सोमबार बिहान १० बजे हुनेछ। अन्त्येष्टि पोखरा-११ स्थित सेतीगण्डकी, कालीखोला र भलाम खोलाको दोभान, रिठ्ठाघाटमा गरिने परिवारले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: