लेते-धुलो डाँडा पदमार्गको स्तरोन्नति, पदयात्रामा सहजता

Share:

जोमसोम। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालय जोमसोमले थासाङ गाउँपालिका-३ स्थित लेते कालोपानीदेखि धुलो डाँडासम्मको पुरानो पर्यटकीय पदमार्गको स्तरोन्नति सम्पन्न गरेको छ। ‘नयाँ पदमार्ग पहिचान तथा स्तरोन्नति’ शीर्षकमा चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत विनियोजित १५ लाख रुपैयाँ बजेटबाट करिब ३५५ मिटर लम्बाइको पदमार्ग सुधार गरिएको एक्यापका प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीले जानकारी दिए।

यसअघि गोरेटोको रूपमा मात्र प्रयोग हुँदै आएको यो पदमार्गलाई स्तरोन्नति गर्दै फराकिलो बनाइएको, छपनी ढुंगा बिछ्याइएको, फलामे रेलिङ जडान गरिएको र जोखिमयुक्त स्थानहरूमा सुरक्षा पर्खाल (प्रोटेक्सन वाल) निर्माण गरिएको एक्यापले जनाएको छ।

धुलो डाँडा-जोमसोम क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित यो पदमार्ग विशेष प्राथमिकतामा राखी स्तरोन्नति गरिएको हो। ओलीका अनुसार, विशेषतः आन्तरिक पर्यटकलाई लक्षित गरी नयाँ पदमार्गको पहिचान र विकास गरिएको हो। कालोपानीदेखि धुलो डाँडा पुग्न पैदल यात्रामा करिब ४५ मिनेट लाग्नेछ।

बेनी–जोमसोम सडक नजिकै रहेकोले छोटो दूरीको पदयात्रा गन्तव्यका रूपमा यो मार्ग आकर्षक बन्ने अपेक्षा गरिएको छ। धुलो डाँडाबाट लेते कालोपानी बजार, हरियाली वनजंगल, कालिगण्डकी करिडोर, आसपासका डाँडाकाँडा, विभिन्न जातिका चराचुरुंगी तथा वसन्त ऋतुमा लालीगुराँसको मनमोहक दृश्यको अवलोकन गर्न सकिन्छ।

एक्याप जोमसोमले पदमार्गको स्तरोन्नतिसँगै अन्य पर्यटकीय पदमार्गहरूको मर्मत-सम्भार, सरसफाइ तथा साइनपोष्टिङका कामहरू समेत गर्दै आएको कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए।

हालका वर्षहरूमा अन्धाधुन्ध सडक विस्तारका कारण मुस्ताङका परम्परागत पदमार्गहरू मेटिँदै गएका सन्दर्भमा, नयाँ पदमार्गको स्तरोन्नतिले पदयात्रा चाहने पर्यटकलाई थप सहजता प्रदान गर्ने विश्वास एक्यापले लिएको छ। यस्तो पहलले स्थानीय पर्यटन प्रवर्द्धन तथा पदमार्ग संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: