पोखरामा नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी

Share:

पोखरा । पोखरा कुमुदिनी होम्समा नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी बुधबारदेखि सुरु भएको छ। दुईदिने प्रदर्शनीमा २ सयभन्दा बढी कलाकृति समावेश गरिएका छन्, जसमा कुमुदिनी होम्सका विद्यार्थीहरूले तयार पारेका १४ वटा चित्र पनि छन्।

प्रदर्शनीको उद्घाटन विद्यालयका अध्यक्ष अशोक पालिखेले गरेका थिए। उनले नेपाल-बंगलादेशबीचको पुरानो सांस्कृतिक सम्बन्धलाई स्मरण गर्दै प्रदर्शनी आयोजना गर्न कुमुदिनी होम्सलाई छनोट गरेकोमा आयोजक संस्था नर्थ क्यानभास इन्टरनेशनललाई धन्यवाद दिए। पालिखेले विद्यार्थीहरूलाई कलामा समर्पित हुन प्रेरणा दिँदै विद्यालयमा रहेको कला संग्रहालय अन्य क्षेत्रका विद्यार्थीहरूलाई निःशुल्क अवलोकन गराउने व्यवस्था गरिएको जानकारी दिए।

कार्यक्रमका संयोजक तथा नर्थ क्यानभास इन्टरनेशनलका निर्देशक असन अहमदले प्रतिभावान कलाकारहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा ल्याउनु संस्थाको उद्देश्य भएको बताए। “कला र संस्कृति दुई देशबीचको सम्बन्ध बलियो बनाउने माध्यम हो,” उनले भने। उनले आगामी वर्ष प्रदर्शनीलाई अझ व्यापक बनाउने योजना पनि सुनाए।

प्राज्ञ बिम्बकवि रमेश श्रेष्ठले कुमुदिनी होम्सले कलाको माध्यमबाट समाजमा सन्देश फैलाउने महत्वपूर्ण भूमिका खेलेको बताए। विद्यार्थीहरूलाई अध्ययनसँगै चित्रकलामा पनि सक्रिय हुन उनले आग्रह गरे।

प्रदर्शनीमा उत्कृष्ट कलाकर्म प्रस्तुत गर्ने कुमुदिनी होम्स र बंगलादेशका कलाकारहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। सम्मान वितरणमा अध्यक्ष पालिखे, निर्देशक अहमद, प्राज्ञ श्रेष्ठ, तथा विद्यालय सञ्चालक समिति अध्यक्ष रश्मि पालिखे सहभागी थिए। कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक सुरेन्द्रराज अधिकारीले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: