
पोखरा। पोखरा नगर रेस्टुरेन्ट तथा बार एसोसिएसन (पोखरा सिटी रेवान) ले बिहीबार खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्था स्थापनाको २५ वर्ष पूरा गरी २६ औं वर्षमा प्रवेशको अवसरमा आयोजित कार्यक्रममा २६ युनिट रगत संकलन भएको अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए।
कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्का भण्डारीले पहिलो रक्तदाता अरबीन मगरलाई व्लड ब्याग हस्तान्तरण गरेर गरिन्। उनले रेडक्रसले रगत संकलन, भण्डारण तथा वितरणमा उच्च प्रविधिको प्रयोग गर्दै गुणस्तरीयता कायम गर्न ध्यान दिइरहेको बताइन्।
सभापति भण्डारीका अनुसार हाल ६ सयभन्दा बढी संस्था रक्तदान अभियानमा संलग्न छन्। उनले हरेक तीन महिनामा नष्ट हुने रगत दान गरेर अरूको जीवन बचाउन सकिने उल्लेख गरिन्।
कार्यक्रममा सिटी रेवानका संस्थापक अध्यक्ष एवं सल्लाहकार चिरञ्जीवी श्रेष्ठले लेकसाइड बाहेक पोखराका अन्य सहरी क्षेत्रका रेस्टुरेन्ट तथा बारहरूले पनि पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए।
एसोसिएसनका पूर्व अध्यक्ष केपी शर्मा पाध्यले देशका विभिन्न क्षेत्रको अध्ययनपछि पोखराको पर्यटन प्रवर्द्धनमा योगदान दिएको जानकारी दिए। अध्यक्ष तिमिल्सिनाले एसोसिएसन हाल ‘पोखरा भ्रमण वर्ष २०२५’ को कार्यसम्पादन समितिमा सदस्यका रूपमा समेत संलग्न रहेको जानकारी गराए।
कार्यक्रममा सिटी रेवानका पूर्व अध्यक्ष यमबहादुर गुरुङ, नेपाल घरभाडा सरोकार समिति कास्की अध्यक्ष कमल न्यौपाने, पृथ्वी होटल व्यवसायी समिति अध्यक्ष अमृत घिमिरे, सामाजिक अभियन्ता बलराम बराल, पत्रकार श्याम कुँवर, सिटी रेवानका वरिष्ठ उपाध्यक्ष तुलसा क्षत्री, कार्यक्रम संयोजक रामप्रसाद ज्ञवाली, सचिव केशव घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए।
