
म्याग्दीको बेनी नगरपालिका-५ स्थित जगन्नाथ आधारभूत विद्यालय र वडा नं १० को ओखले आधारभूत विद्यालय विद्यार्थी नपुगेपछि शैक्षिक सत्र २०८२ बाट बन्द भएका छन्। यस्ता उदाहरण ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयका संकटलाई देखाउँछन्।
शहरनजिकै रहेका विद्यालयहरू पनि जर्जर अवस्थामा छन्। भानु माविमा २०८० मा १०२ र २०८१ मा ७२ विद्यार्थी भए पनि २०८२ मा त्यो संख्या घटेर ४८ पुगेको छ। कक्षा १ र ३ मा एकजना पनि विद्यार्थी छैनन्। युवावर्ष आधारभूत विद्यालयमा समेत कक्षा २, ३ र ४ मा नयाँ भर्ना शून्य छ। चार शिक्षक कार्यरत विद्यालयमा हाल ७ मात्र विद्यार्थी छन्।
हंशबाहिनी आधारभूत विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थी संख्या झण्डै बराबरी छ। दुई शिक्षक, एक बालविकास सहयोगी र एक कार्यालय सहयोगीसहित जम्मा चार जना कर्मचारी छन् भने विद्यार्थी पनि चार मात्र छन्। प्राचार्य सरस्वती नेपालीका अनुसार २०८० मा सात कक्षा सञ्चालन हुन्थ्यो तर विद्यार्थी घट्दै जाँदा अहिले कक्षा ३ सम्म सीमित भएको छ।
शैक्षिक गुणस्तर सुधार नहुँदा अभिभावक सामुदायिक विद्यालयप्रति उदासीन छन्। विद्यार्थीलाई अक्षर चिन्न सक्ने भएपछि निजी विद्यालयमा सार्ने प्रवृत्ति व्यापक छ। भानु माविका प्राचार्य दिनेश बोगटीका अनुसार अधिकांश विद्यार्थी विपन्न तथा दलित समुदायका हुन्।
सदरमुकाम बेनीबजारको प्रकाश माविमा सबैभन्दा बढी ७३२ विद्यार्थी छन् भने बेनी सामुदायिक माविमा ६३७ छन्। तर अधिकांश विद्यालयमा आधारभूत तह (कक्षा १–५) मा विद्यार्थी संख्या न्यून छ। निजी विद्यालयमा कक्षा ७–८ सम्म पढाएर कक्षा ९–१० मा सामुदायिक विद्यालयतिर फर्काउने प्रचलन छ।
निजी विद्यालयको गाडी गाउँगाउँ पुग्ने, अङ्ग्रेजी माध्यमको मोह, सामुदायिक विद्यालयप्रतिको अविश्वास, राजनीतिक हस्तक्षेप, शिक्षकको गैरजिम्मेवारी र समाजको बेवास्ता समस्याको मूल कारण हुन्। बेनी नगरपालिकाका शिक्षा उपसचिव क्षेत्रबहादुर भण्डारीका अनुसार यी कारणले विद्यालयहरू विद्यार्थीविहीन बन्न थालेका छन्।
शिक्षा अधिकृत कमल ढकालका अनुसार २०८० मा १०,८२५ विद्यार्थी रहेकामा २०८१ मा घटेर १०,५५० पुगेको छ। २०८२ मा हालसम्म ७,८२८ मात्र छन्। शिक्षकहरूका अनुसार बालकक्षामा अक्षर चिनाउन ल्याइएका बालबालिका चिन्न थालेपछि निजी विद्यालयमा लैजाने प्रवृत्तिले मन खिन्न बनाएको छ।
नगरपालिकाका सबैभन्दा कम विद्यार्थी भएको मावि भानु माविमा हाल दलित १९, ब्राह्मण–क्षेत्री ८, जनजाति ११ जना विद्यार्थी छन्। अन्य विद्यालयमा पनि जातीय संरचना यस्तै छ।
बेनी नगरपालिकामा ११ संस्थागत र ५३ सामुदायिक विद्यालय छन्। सामुदायिक विद्यालयको आकर्षण घट्दो हुँदा सुविधायुक्त कक्षाकोठा खाली, खेलमैदान सुनसान, र शिक्षकहरू खाली कक्षामा बस्न बाध्य छन्। वडा नं ९ का अध्यक्ष चक्र केसीका अनुसार समुदाय, विद्यालय र अभिभावकबीचको दूरी प्रमुख चुनौती हो।
नगरपालिकाले यस वर्ष १६ वटै माविमा विद्युतीय हाजिरी सुरु गरेको छ। जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्ने निर्णय आंशिक रूपमा मात्रै कार्यान्वयन भएको हो। उपप्रमुख ज्योति लामिछानेले आफ्नी छोरीलाई निजी विद्यालयबाट सामुदायिकमा सारेर यसको थालनी गरेकी हुन्।
नगरप्रमुख सुरत केसीका अनुसार घट्दो जन्मदर, बसाइँसराइ र निजी विद्यालयतर्फको आकर्षणका कारण सामुदायिक विद्यालयमा तह घटुवा (कक्षा समायोजन) र शिक्षक व्यवस्थापनको नीति लिइएको छ। २०७९ मा ११ र २०८० मा सात विद्यालयमा कक्षा घटुवा गरिएको थियो।
शिक्षकलाई जिम्मेवार बनाउँदै प्रविधिमैत्री शिक्षण, सीपमूलक तालिम, अभिभावकमा जागरण र शैक्षिक नतिजा सुधार गर्न ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रम सञ्चालन भइरहेको छ। तह समायोजन भएकामा विद्यार्थी बढेपछि पुनःस्थापना गर्ने नीति पनि रहेको छ।
